अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४९ | Colorodo: 22:04

तीन महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरस विरूद्धको खोप लगाइने –प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ माघ १४ गते ६:५७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरस विरूद्धको खोप लगाइने बताउनुभएको छ । कोरोना भाइरस विरूद्धको खोप अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अबको तीन महिनामा सबै नेपालीलाई कोरोना भाइरस विरूद्धको खोप लगाइने बताउनुभएको हो । सरकारले प्राथमिकताका आधारमा निशुल्क रुपमा खोप उपलब्ध गराउने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

नागरिकको जीवन रक्षा हाम्रो प्राथमिकता हो यसका लागि आवश्यक बजेट प्रबन्ध भएको छ, प्रधानमनत्रीले भन्नुभयो । भारतले आफ्नो मुलुकमा खोप सुरूवात गरेको एक हप्तामै नेपाललाई दिएकोमा उहाँले धन्यवाद पनि व्यक्त गर्नुभयो । कोरोना महामारीमा खटिएका सबैको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले आज लगाइएको खोपको दोस्रो डोज २८ दिनपछि लगाइने भएकाले सो क्रममा लापरबाही नगर्न पनि आग्रह गर्नुभयो ।

नेपालमा आजबाट कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ । खोप पहिलो चरणको अभियानमा सफाइ कर्मचारी, नर्स, महिला स्वास्थ्य स्वयंसेविका, डाक्टर, सुरक्षाकर्मी, कैदी बन्दी गरी झन्डै ४ लाख ३० हजारलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरेको छ । कोरोना विरुद्धको खोपका लागि देशभर १ सय २० वटा खोप केन्द्र बनाइएको छ । एउटा खोप बुथले एक दिनमा १ सय २० देखि १ सय २५ जनालाई खोप दिनसक्ने बताइएको छ ।

यसैबीच, प्रधानमन्त्री ओली कोरोना खोप कार्यक्रम निरीक्षण गर्न उपत्यकाका विभिन्न अस्ताल पुग्नुभएको छ । प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका अस्पताल पुगेर खोप कार्यक्रम अवलोकन गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू