अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५७ | Colorodo: 04:12

नेकपाका उपाध्यक्ष वामदेब गौतम द्वारा एकता राष्ट्रिय अभियानको घोषणा

बिआरटीनेपाल २०७७ माघ १४ गते ६:५६ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले विभाजित पार्टीलाई एकता गराउने भन्दै एकता राष्ट्रिय अभियानको घोषणा गर्नुभएको छ । आज ललितपुरको धोबीघाटमा कार्यक्रम गरि उपाध्यक्ष गौतमले विभाजित नेकपालाई एकता गराउनका लागि नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गर्नुभएको हो ।

नेकपा केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षमा राजनीतिक रूपमा विभाजित भए पनि गौतम तटस्थ रहँदै आउनुभएको थियो ।आफू एकताको पक्षमा रहेको सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएका गौतमले आज देखि औपचारिक रूपमै एकता अभियान घोषणा गर्नुभएको हो ।

उपाध्यक्ष गौतमले पार्टी विभाजनको पक्षमा कोही नभएको भन्दै शक्ति निर्माण गरेर दुई पार्टीलाई एक बनाइ छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।शीर्ष नेताहरू विभाजित भए पनि पार्टीका दोस्रो र तेस्रो तहका नेताहरू एकता भङ्ग भएकोमा चिन्तित रहेको भन्दै उहाँले आफूले संयोजन गरेर दोस्रो, तेस्रो तहका नेताहरूलाई अघि बढाउने बताउनुभयो ।

६ महिनाभित्र पार्टी एकता गराइ सक्ने उपाध्यक्ष गौतमले दाबी गर्नुभयो । ६ महिनाअघि नै एकता हुन सक्ने पनि उहाँको भनाइ छ । गौतमले ओली पक्षधर र प्रचण्ड–नेपाल पक्षधरलाई आफ्नो पक्षमा ल्याउने बताउनुभयो । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको पक्षमा फैसला गरे पनि आफूहरूले त्यस फैसलालाई शिरोधार्य गर्ने गौतमले बताउनुभयो । वैशाखमा चुनाव भए राम्रो उम्मेदवार छानेर भोट हाल्ने भन्दै प्रतिनिधि सभा पुनर्स्थापना भयो भने पार्टी एकीकरण गराउन समयसमेत प्राप्त हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू