अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०८ | Colorodo: 16:23

शङ्कर लामिछानेको स्मरण गरियो

बिआरटीनेपाल २०७७ माघ १२ गते ८:२२ मा प्रकाशित

काठमाडौँ । सुप्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ४५ औँ स्मृति दिवसको अवसरमा आज यहाँ विशेष कार्यक्रमको आयोजना गरी उनको सम्झना र योगदानको चर्चा परिचर्चा गरियो ।  कार्यक्रममा वक्ताहरूले नेपाली निबन्धमा देवकोटापछि लामिछाने नै विशिष्ट निबन्धकारको रूपमा देखिएको धारणा राख्दै त्यसपछि त्यस्तो उचाइको लेखन नदेखिएकोमा चिन्ता पनि व्यक्त गरे ।

सो अवसरमा प्रमुख वक्ताका रूपमा समालोचक प्रमोद प्रधानले आजभन्दा ५० वर्षअघिको समयमा लेखिएका भए पनि लामिछानेका निबन्धमा पाइने दर्शन, विचार, संरचना, शैली र प्रयोग अद्वितीय भएको बताए । उनले भने, तर आजका निबन्धहरूमा भने त्यसको अभाव देखिन्छ । उनको समयभन्दा धेरै सुगम समय भए पनि लामिछानेले गरे जति अध्ययन न त हामीले गर्न सकेका छौँ, न त उनको स्तरमा पुग्ने लेखन नै गर्न सकेका छौँ । अर्का वक्ता भूपेन्द्र खड्काले लामिछानेका लेखनका विशेषताहरूबारे चर्चा गर्दै अहिले त्यस्तो गहन लेखनको अभाव रहेको बताए । प्रकाशकका रूपमा आफूले उत्कृष्ट र गहन कृति खोजिरहेको तर पाउन नसकेको उनको भनाइ थियो ।

सभापतिको आसनबाट शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले संस्थाले लामिछानेको एब्स्ट्र्‍याक्ट चिन्तन प्याजको अङ्ग्रेजी अनुवाद गराइरहेको जानकारी दिए । नेपाली निबन्ध विधाको विकासका लागि अन्य कतिपय काम भइरहेको उनको भनाइ थियो ।

सोही अवसरमा प्रमुख अतिथि, नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य माया ठकुरीलगायत उपस्थित साहित्यकारहरूले कथाकार पद्मावती सिंहको नवौँ कथासङ्ग्रह एक झुल्को घामको विमोचन गरेका थिए । सो कृतिबारे बोल्दै उनले कथाहरूले उमेरले उत्तरार्द्धमा पुगेका महिलाहरूको मनोविज्ञानलाई सूक्ष्म रूपमा चित्रण गरेको बताइन् । उनले भनिन्, पद्मावती सिर्जनामा रमाइरहने सक्रिय स्रष्टा हुन् ।

सो कार्यक्रममा कथाकार पद्मावती सिंह, साहित्यकारहरू हिरण्यकुमारी पाठक, रामप्रसाद पन्त र उन्नति बोहरा शिला, युवराज नयाँघरे, अनेसासका वरिष्ठ उपाध्यक्ष बाबा बस्नेत, अनेसास नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहाडी, पुष्पा खनालले पनि आ-आफ्ना धारणाहरू राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू