अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन सुरु

बिआरटीनेपाल २०७७ माघ १० गते ७:२४ मा प्रकाशित

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन शनिबारदेखि सुरु भएको छ । भर्चुअल माध्यमबाट आइतबारसम्म चल्ने सम्मेलनमा महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताउनुभएको छ ।

गैरआवासीय नेपाली संघको विशेष साधारणसभाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले संघले संकटको बेला आफ्नो औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको बताउनुभएको हो । मन्त्री ज्ञवालीले प्रवासमा संकटमा परेका नेपालीहरुको राहत, उद्धार र उपचारमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्नुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विदेशमा बसेर आफ्नो मिहेनत र पसिनाबाट कमाएको पूँजी नेपालको समृद्धि र विकासका लागि गैरआवासीय नेपालीले योगदान गरेको बताउनुभयो । विपद् र संकटका बेला विदेशमा रहेका प्रत्येक नेपालीले देखाएको अपनत्व प्रशंसायोग्य भएको उहाँको भनाइ थियो ।

विशेष अधिवेशनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले महाधिवेशन महिला, युवा, दोस्रो पुस्ता र संघको भविष्यको बारेमा छलफल गर्न सुझाव दिनुभयो । घलेले गैरआवासीय नेपाली संघलाई साझा संस्थाको रुपमा अघि बढाएर मिनि संयुक्त राष्ट्रसंघको रुपमा अघि बढाउनु पर्नेमा जोड दिनुभएको छ ।

अर्का पूर्वअध्यक्ष देवमान हिराचनले विशेष महाधिवेशनको सफलताको शुभकामना दिँदै विधान संशोधन, एनआरएन फाउण्डसेन, भिजन २०२० लगायतका विषयमा घनिभूत छलफल गर्न सुझाव दिनुभयो । विशेष अधिवेशनमा संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछानेले गतिशील संस्थामा सामान्य विवाद र असहमति हुनु स्वभाविक रहेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्टले सबै पक्षलाई समेटेर संस्थालाई अघि बढाउन आग्रह गर्नुभयो । भर्चुअल रुपमै दुई दिनसम्म चल्ने संघको विशेष महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू