अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४४ | Colorodo: 09:59

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न

बिआरटीनेपाल २०७७ माघ ९ गते ८:१० मा प्रकाशित

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २० औँ वार्षिक साधारण सभा शुक्रवार काठमाडौँको टोखामा सम्पन्न भएको छ । प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, पूर्व अध्यक्षहरू प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्री पंगेनी सँगै वर्तमान अध्यक्ष रमेश विजी उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी सहभागी थिए ।

समारोहमा सङ्गीतकर्मी कृष्ण गन्धर्वलाई १५ हजार सहित ‘लोक बहादुर स्मृति पुरस्कार’, ११ हजार नगद सहित लोक पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी सिताराम बडाल तथा नेपाली लोक सङ्गीतमा विद्यावारिधि गरेका डा. राम प्रसाद घिमिरेलाई सम्मान गरियो । उनीहरूसँगै कोभिडको समयमा कलाकारहरूलाई सहयोग पु¥याएका पृथ्वी थकाली र विनोद श्रेष्ठ पनि सम्मानित भए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले प्रतिष्ठानको भवन निर्माणका लागि पूर्व अध्यक्ष बद्री पंगेनी सहित उनको टिमले खेलेको भूमिकाको प्रशंसा गरे । ‘तपाईँहरूले प्रतिष्ठान स्थापना गर्ने जुन अठोट गर्नुभयो, त्यसको लागि बद्री पङ्गेनीको ठुलो हात छ । यो काम जुग जुग बाँचिरहन्छ । प्रतिष्ठान हाम्रो सम्पत्ति हो । यसको संरक्षण र प्रवर्द्धन गर्नु हाम्रो कर्तव्य हो । प्रतिष्ठानका लागि नगरपालिकाले सक्ने सहयोग गर्नेछ । ’ अधिकारीले भने ।

प्रतिष्ठानका महासचिव सुवास के.सी.ले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानलाई कोरोनाको समयमा सहयोग गर्ने सहयोगी हातहरूलाई सम्मानका साथै आजीवन सदस्य बनेका संगीतकर्मीहरुलाई पनि कदर तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

समारोहमा बोल्दै प्रतिष्ठानका वर्तमान अध्यक्ष रमेश बिजीले प्रतिष्ठानलाई दिवङ्गत स्रष्टाहरूको वैकुण्ठ तथा पुण्यभुमी बनाउने योजना सुनाए । उनले भने, ‘बाजा सङ्ग्रहालय, संगीतालय स्थापना गर्ने सपनाले मूर्त रूप लिँदैछ । मलाई आफ्ना अनुभव साँटेर आफूलाई सहयोग गर्ने पूर्व अध्यक्षहरूप्रति आभार व्यक्त गर्दछु ।’

साधारणसभा पश्चात् आयोजित बन्द सत्रमा प्रतिष्ठानको साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । अहिलेको प्रतिकुल अवस्थामा पनि अत्यधिक संगीतकर्मीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा भावी योजनाको घोषणा पनि गरिएको थियो । भावी योजना अनुसार प्रतिष्ठानले अघिल्ला कार्यकालहरूमा गर्दै आइरहेका महत्त्वपूर्ण कार्यहरूलाई निरन्तरता, लोकबाजा सङ्कलन सहितको सङ्ग्रहालय स्थापना, सङ्गीत विकास बोर्ड गठन प्रक्रियामा पहल, हालसम्म गठन नभएका जिल्ला र विदेश शाखाहरूमा सङ्गठन विस्तारका साथै निष्क्रिय रहेका जिल्लाहरूलाई क्रियाशील, अनुशासित, मर्यादित, व्यवस्थित र चलायमान गराउन पहल तथा रोयल्टी पाइरेसी सम्बन्धी सम्बन्धित सरोकारवालाहरुसँग बसी स्पष्ट धारणा ल्याउन पहल तथा लोकदोहोरी आचारसंहिता समेत तयार गर्ने लगायतका विषयहरू रहेका छन् ।

वि.सं २०५७ साल असोज १६ गते स्वर्गीय लोक गायक, लोक बहादुर क्षेत्रीको सम्झनामा नवलपरासीको अरुण खोलामा भएको राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगितामा उपस्थित गायक गायिका एवम् निर्णायक मण्डलका अग्रजहरूको भेला पश्चात् अम्बर विरही गुरुङको अध्यक्षतामा १४ सदस्यीय तदर्थ समिति गठन भई त्यसको ७ महिना पश्चात् वि.सं २०५८ वैशाख १४ र १५ गतेको राष्ट्रिय भेला मार्फत गैँडाकोटको उच्च मा.वि.बाट अम्बर विरही गुरुङकै अध्यक्षतामा प्रतिष्ठानको पहिलो कार्यसमिति गठन भएको थियो ।

प्रतिक्रिया