अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१७ | Colorodo: 01:32

आन्दोलनको बलमा संसद पुनःस्थापना गर्नुपर्छः जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी

बिआरटीनेपाल २०७७ माघ ८ गते ६:५४ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले प्रधानमन्त्री ओलीको प्रतिगामी कदमकाबिरुद्व संयुक्त आन्दोलन आवश्यक रहेको बताउनुभएको छ । जनताको संयुक्त शक्तिशाली आन्दोलनको बलबाट विघटित संसद पुनः जीवित गर्न सकिने केसीले बताउनुभयो । संसद विघटनको विपक्षमा रहेका सबै राजनीतिक र नागरिक समाज संयुक्त आन्दोलनमा उत्रनु पर्नेमा जोड दिदै उहाँले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अधिनायकवादी र प्रतिगमनकारी भएको उल्लेख गर्नुभयो ।

संविधान र गणतन्त्रको रक्षाका लागि सबै राजनैतिक शक्तिहरु एक ठाउँमा उभिनु पर्ने बताउँदै केसीले विगतमा राजा र पञ्चायत विरुद्धका आन्दोलनहरुमा नेपाली कांग्रेस, कम्यूनिष्ट पार्टीहरु र मधेशवादी दल एक भएर संघर्षमा गएजस्तै संसद विघटन गर्नु गलत हो भन्ने शक्तिहरु पनि एक भएर कार्यगत एकता गरी अगाडि बढ्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाले बिहिबार बुटवलमा आयोजना गरेको प्रतिनिधिसभाको विघटन र संयुक्त आन्दोलनको प्रश्न’–विषयक अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष केसीले संसद विघटन गरी चालेको असंवैधानिक, प्रतिगामी कदम उल्टाउन नसकिए देशमा संकट आउने ठहर गर्नुभएको छ ।

कार्यक्रममा नेकपा मालेका सचिवालय सदस्य गोपालमणि गौतमले संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रतिगामी कदम देश र जनताको हितमा नभएकाले संयुक्त आन्दोलन जरुरी रहेको बताउनुभयो । क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य पे्रम सुवेदीले संसद विघटन गलत भएपनि संसद पुनस्थापनाले जनताका अधिकार सुनिश्चित हुन नसक्ने उल्लेख गर्दै मिल्ने सकिने उजेण्डाहरुमा एकसाथ भएर अगाडी बढ्न सकिने बताउनुभयो ।

नागरिक समाजका अगुवा पदम कार्की, प्राध्यापक डाक्टर माधवराज पन्थी र प्राध्यापक लिलबहादुर केसी, राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलम, टानबहादुर केसी, नेकपा मसालका रुपन्देही प्रवक्ता नारायण जीसी, केपी पोखरेल, हिरालाल धामीले प्रतिगमनका विरुद्व अग्रगामी निकासका लागि संयुक्त आन्दोलन जरुरी रहेको ठहर गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू