अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३९ | Colorodo: 04:54

सम्झौताअनुसार बक्यौता रकम नपाएपछि उखु किसानद्वारा फेरि आन्दोलन घोषणा

बिआरटीनेपाल २०७७ माघ ८ गते ६:४६ मा प्रकाशित

सरकारसँग भएको सम्झौताअनुसार बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले फेरि आन्दोलन घोषणा गरेका छन् । उखु किसानले शुक्रबारदेखि फागुन सात गतेसम्म जागरण अभियान, फागुन आठ गतेदेखि १४ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने र फागुन १४ गतेदेखि २१ गतेसम्म एक छाकमात्र खाएर खेतमा काम गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन् । त्यसपछि अर्को चरणको आन्दोलन गर्ने सङ्घर्ष समितिले जनाएको छ ।

चिनी उद्योगबाट उखुको बक्यौता नपाएपछि काठमाण्डौ आएर आन्दोलन गरेका किसानहरू सरकारले २१ दिनभित्र सबै बक्यौता उपलब्ध गराउने सम्झौता गरेपछि फर्किएका थिए । तर २१ दिने समयसीमाभित्र सबै बक्यौता भुक्तानी नभएपछि फेरि आन्दोलन गर्नुपरेको उखु किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले जानकारी दिनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानले पाउनुपर्ने ६५ करोड रुपैयाँमध्ये ५७ करोड भुक्तानी भएको र आठ करोड मात्रै बाँकी रहेको बताए पनि त्यसको विवरण नदिएको रायले बताउनुभयो । कुन किसानले कति रकम पाए भन्ने विवरण मन्त्रालयले नदिएकाले उद्योगीले गरेको भनिएको भुक्तानी पनि विश्वसनीय नभएको किसानको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू