अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४१ | Colorodo: 21:56

जो बाइडनद्धारा अमेरिकाको ४६ औँ राष्ट्रपतिको शपथ, ट्रम्पका कतिपय नीति खारेजको आदेश

बिआरटीनेपाल २०७७ माघ ८ गते ६:४५ मा प्रकाशित

डेमोक्रेट नेता जो बाइडनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको शपथ लिनुभएको छ । राजधानी वासिंगट डिसीमा भएको विशेष समारोहमा बाइडनले राष्ट्रपतिको शपथ लिनुभएको हो ।१२७ वर्ष पुरानो आफ्नो पारिवारिक बाइबलमा हात राखेर शपथ लिनुभएका ७८ वर्षीय बाइडन अमेरिकी इतिहासमै सबैभन्दा पाको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने नेता बन्नुभएको छ ।

कडा सुरक्षाबीच सम्पन्न शपथ समारोह, बाइडनसँग पराजित निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बहिष्कार गर्नुभयो ।ट्रम्प कार्यक्रममा सहभागी नभए पनि उपराष्ट्रपति माइक पेन्स भने सहभागी हुनुभयो । ट्रम्पलाई भने शपथ समारोह हुनु केही घण्टा पहिले बिदाई गरिएको थियो ।

यसैगरी, कमला ह्यारिसले उपराष्ट्रपति पदको शपथ लिनुभयो । ह्यारिसले उपराष्ट्रपति बन्ने पहिलो महिला एवं पहिलो अश्वेत महिला बनेर इतिहास रच्नुभएको छ । गत नोभेम्बर ३ मा सम्पन्न निकै विवादित निर्वाचनमा ऐतिहासिक मतका साथ बाइडनले बहालवाला राष्ट्रपति ट्रम्पलाई ३०६–२३२ इलेक्टोरल कलेज मतले पराजित गर्नुभएको हो ।

इलेक्टोरल र लोकप्रिय दुबै मतबाट पराजीत ट्रम्पले भने हार अस्वीकार गर्दै आफ्ना अन्ध समर्थकहरुलाई संसद भवनमा हिंसात्मक आक्रमण गर्न उक्साएपछि ह्वाइटहाउसबाट बाहिरिँदै गर्दा निकै आलोचित बन्नुभएको छ ।दुई हप्ताअघिको उक्त घटनामा ट्रम्पका उत्तेजित भीडले गरेको आक्रमणमा परी एक प्रहरी अधिकारीसहित पाँच जना मारिएका थिए । संसद भवनमा आक्रमण गराएपछि ट्रम्पमाथि अमेरिकी इतिहासमै दोस्रोपटक महाअभियोग लागेको छ ।

३६ वर्षसम्म डेलावरबाट सिनेटर रहनुभएका बाइडनले बाराक ओबामा प्रशासनमा ८ वर्ष उपराष्ट्रपति बन्नुभएको थियो ।सबै अमेरिकीको राष्ट्रपति बन्ने र सबैका लागि काम गर्ने तथा विभाजित देशलाई एकतावद्ध गर्ने बताउँदै आउनु भएका बाइडन तेस्रो प्रयासमा राष्ट्रपति बन्न सफल हुनुभएको हो ।

बाइडन सामु कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने, शिथिल बनेको अर्थतन्त्र उकास्ने, विश्वबाट अलग थलग भएको अमेरिकालाई फेरि विश्वको नेतृत्वमा स्थापित गर्ने जस्ता चुनौती रहेका छन् । ह्वाइट हाउसमा बहाली लगत्तै उहाँले ट्रम्पका कतिपय नीति खारेज गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको छ । जसमा मेक्सिकोको सीमामा पर्खाल लगाउन रोक्ने लगायतका १५ विभिन्न आदेश छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू