अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५४ | Colorodo: 01:09

अमेरिकामा राष्ट्रपति बाइडेनको शपथ आज, विशेष समारोह जारी

बिआरटीनेपाल २०७७ माघ ७ गते ७:२९ मा प्रकाशित

अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जो बाइडेनले बुधबार (स्थानीय समय अनुसार मध्याह्न, नेपाली समय अनुसार राति ११ बजेपछि) शपथ लिँदै हुनुहुन्छ । स्थानीय समय अनुसार बुधबार बिहान सुरु भएसँगै राजधानी वासिंगटन डिसीमा शपथ ग्रहण समारोह गतिविधि सुरु भएको छ। शपथ ग्रहण समारोहका लागि राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र पत्नी डा. जिल बाइडेन गृह राज्य डेलवरबाट निजी विमानमा राजधानी पुग्नुभएको छ ।

राष्ट्रपति भवन बाहिर हुने समारोहमा बाइडेनले राष्ट्रपति तथा कमला ह्यारिसले उपराष्ट्रपतिका रुपमा शपथ लिनुहुनेछ । ह्यारिस उपराष्ट्रपति बन्ने पहिलो महिला तथा पहिलो अश्वेत महिला हुनुहुन्छ । समारोहका लागि सुरक्षा व्यवस्था अति नै कडा पारिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। शपथग्रहणको औपचारिक समारोह पूर्व बाइडेन र ह्यारिस स्थानीय चर्चमा जाने तथा त्यसपछि सेनाको स्मृति पार्कमा जाने कार्यक्रम छ।

बाइडेनले पारिवारिक बाइबलमा हात राखेर शपथ लिने बताइृएको छ । उहाँले सिनेटरका रुपमा ३६ वर्ष काम गरिसक्नुभएको छ । स्थानीय समय अनुसार मध्याहन्न शपथ लिएसँगै बाइडेनले जिम्मेवारी सम्हाल्नुहुनेछ । उहाँले बुधबार नै केही कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी छ।

गएको नोभेम्बर ३ मा भएको चुनावमा ऐतिहासिक मत पाएका बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ३०६–२३२ इलेक्टोरल कलेज मतले पराजित गर्नुभएको थियो । अझै पनि हार पूर्ण रुपमा स्वीकार नगरेका राष्ट्रपति ट्रम्प समारोहमा सहभागी हुनुहुने छैन ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू