अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२३ | Colorodo: 08:38

आर्थिक क्षेत्रका सूचक सकारात्मक – अर्थमन्त्री पौडेल

बिआरटीनेपाल २०७७ माघ ७ गते ६:५८ मा प्रकाशित

अर्थमन्त्री विष्णु पौडेलले देशको आर्थिक क्षेत्रका सूचकहरू सकारात्मक रहेको बताउनुभएको छ । बुधबार कृषि विकास बैंक लिमिटेडको ५४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले देशको आर्थिक क्षेत्रका सूचकहरू सकारात्मक रहेको बताउनुभएको हो । कोभिड–१९ का कारण राजस्व परिचालनका केही सन्दर्भमा प्रतिकूलता रहे पनि अन्य क्षेत्रमा आर्थिक सूचकहरू सकारात्मक रहेको उहाँको भनाइ छ । उहाँले कोभिड–१९ को बावजुद पनि देशको अर्थतन्त्रलाई गतिशील, चलायमान र उत्पादनशील बनाउन प्रयत्नरत रहेको बताउनुभयो ।

मन्त्री पौडेलले नेपाल कोभिडविरुद्ध सही नीति, सही योजना र प्रभावकारी कार्यान्वयनका साथ अघि बढेको भन्दै छिटोभन्दा छिटो कोभिडविरुद्धको खोप आयात गरेर आम नागरिकलाई निःशुल्क उपलब्ध गराउने जानकारी दिनुभयो । पहिले अग्रपङ्क्तिमा खटिएकाबाट सुरु गरेर क्रमशः आम नागरिकमा पुर्याईने उहाँको भनाइ छ ।

मन्त्री पौडेलले मध्यावधि चुनाव गर्ने कुरा संविधानले प्रबन्ध गरेको व्यवस्था भएको भन्दै संविधानको कार्यान्वयनले देशलाई गतिशील ढङ्गले अघि बढाउन मदत गर्ने बताउनुभयो । देशलाई संविधानले परिलक्षित गरेको दिशामा लैजानका लागि चुनावको अपरिहार्यता रहेको पनि उहाँको भनाइ छ ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल सरकारले डिजिटल फ्रेमवर्क लागू गरेको र वित्तीय क्षेत्रलाई यसले विशेष रूपले समेट्ने भएकाले बढीभन्दा बढी विद्युतीय कारोबार होस् भन्ने हिसाबले राष्ट्र बैंक अघि बढेको बताउनुभयो । यसबाट सुशासन कायम हुने अपेक्षा गरिएको उहाँको भनाइ छ । कृषिमा आधुनिकीकरण गर्ने धेरै सम्भावना देशमा भएकाले कृषि विकास बैंकले अन्य क्षेत्रमा भन्दा विशेषगरी कृषि क्षेत्रमै लगानी गर्नुपर्ने उहाँले बताउनुभयो ।

कृषि विकास बैंक लिमिटेडका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले बैंकले आगामी दिनमा उच्च मूल्य प्राप्त हुने फलफुलमा कर्जा विस्तार गर्ने बताउनुभयो । त्यसैगरी गाई–भैँसी फार्ममा पनि लगानी विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ । बैंकले उत्पादन र उत्पादकत्व बढाउनेतर्फ काम गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया