अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३४ | Colorodo: 04:49

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा सुस्तता, समयमै निर्माण सम्पन्न हुनेमा शंका

बिआरटीनेपाल २०७७ माघ ५ गते ६:२३ मा प्रकाशित

निर्माणधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम प्रभावित हुदै गएको छ । निर्धारित समयभन्दा ६ महिनाअघि नै संचालनमा आउने भनिए पनि पछिल्लो समय निमार्णको काम प्रभावित बन्दै गएको हो । आगामी सन् २०२१ जुलाई १० मा निर्माणको काम सक्ने समयसीमा रहे पनि ६ महिना अगावै पूरा गर्ने लक्ष्य राखिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको गतिमा सुस्तता आउन थालेको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले विमानस्थलको ७० प्रतिशत काममात्र पूरा भएको बताउनुभयो ।विमानस्थलको २ हजार ५ सय मिटर लामो रन–वे, ट्याक्सी–वे, टर्मिनल बिल्डिङ, टावर, ह्याङ्गर, एप्रोन, आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँचमार्ग सिँचाइ नाला तथा कल्भर्डको काम मात्र सकीएको छ ।

बिमानस्थलमा १४ वटा भवन भने निर्माण भई सकेका छन् । फिनिसिङको चरण बाँकी रहेको छ भने बाउन्ड्री फिनिसिङको काम पनि भई रहेको छ । त्यस्तै मार्किङ, टर्मिनल फिनिसिङ, ढल पाइप लगाउने काम भए पनि सुस्त गतिमा छ । ल्याण्डफिल साइट स्थानान्तरण, फ्यूल स्टेसन निर्माण, भलबाढी निकास, डाँडा कटानलगायत समस्याको रुपमा रहेको छ ।

कोरोनाका कारण पनि पछिल्लो समय बिमानस्थल निमार्णको काम प्रभावित बनेको छ । हाल आयोजनामा नेपाली र चिनियाँ गरी ३ सय ३० जनाले काम गरिरहेका छन् । पहिले काम गरेका केही चिनियाँ कामदार कोरोना खोप लगाउन चीन गएका कारण पनि बिमानस्थल निर्माणको काम सुस्त भएको देखिन्छ ।

नेपालले चीन सरकारसँग २२ अर्ब रुपैयाँ ऋण लिएर निर्माण थालेको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमासमेत हेरिएको छ । दुई हजार ५ सय मिटर लामो धावनमार्गको यो विमानस्थलमा उडान वा अवतरित हुने विमानको यात्रु क्षमता झण्डै २ हजार जनाको हुनेछ । यो विमानस्थल संचालन आएपछि पोखरामात्र नभै समग्र नेपालकै पर्यटन क्षेत्रले फड्को मार्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू