अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३१ | Colorodo: 09:46

सरकारद्वारा ‘नागरिक एप’ सार्वजनिक, भ्रष्टाचार घटाउने प्रधानमन्त्रीको विश्वास

बिआरटीनेपाल २०७७ माघ २ गते ८:०९ मा प्रकाशित

सरकारले ‘नागरिक एप’ सार्वजनिक गरेको छ । सम्भव भएसम्मका सरकारी सेवा घरबाटै प्रदान गरी नागरिकलाई सहज बनाउनका लागि नागरिक एप सञ्चालनमा ल्याइएको हो । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै मन्त्री पार्वत गुरुङले एप सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो सन्देश पनि प्रस्तुत गरिएको थियो ।

एप सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले तीनवर्ष देखिको अध्ययन र अनुसन्धानले नागरिक एपको विकास भएको बताउनुभयो । उहाँले नागरिक एपले नागरिकलाई सहज सेवा दिनुका साथै सरकारी कामलाई सूचना प्रविधिसँग जोड्ने उल्लेख गर्नुभयो । नागरिक एप डिजिटल नेपालको अर्को खुड्किलो भएको उहाँको भनाइ छ ।

सूचनाप्रविधिमार्फत नागरिकका काम हुँदा नागरिकको समय बचत, सरकारी खर्च कटौती र भ्रष्टाचारसमेत कम हुने उहाँको विश्वास छ । उहाँले नयाँ पुस्ता र युवा समुदायलाई डिजिटल नेपालको अभियानमा अग्रणी भूमिका खेल्न आग्रहसमेत गर्नुभएको छ ।एपमार्फत सवारी कर, लाइसेन्स, लोकसेवा, मालपोत, लगायतका अन्य सरकारी सेवाका कार्यहरू गर्न सहज हुने बताइएको छ । एप्लिेकेसनमा बिस्तारै सुधार गर्दै लैजाने र सम्पूर्ण सरकारी सेवाहरु यसै एपमार्फत सञ्चालन गरिने छ । यस्तै सरकारी सेवाहरूको साथै अर्धसरकारी क्षेत्रका कामहरु पनि यस एप्लिेकसनमा समावेश गर्दै लगिने मन्त्रालयले जनाएको छ ।

नागरिक एप आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सीममार्फत प्रयोग गर्न सकिने जनाईएको छ । सेवाको लागि प्रयोगकर्ताले आफ्नो नागरिकता, मतदाता वा राहदानी मध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने छ । सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा नागरिक एपको परिकल्पना गरेको थियो । ३ वर्षपछि यसले पूर्णता पाएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू