अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

ओलीलाई प्रचण्डको चुनौती – ‘पार्टीले काम गर्न दिएन भनेर झुट नबोल्नुस्, प्रमाण दिनुस्’

बिआरटीनेपाल २०७७ पुष २९ गते ८:१६ मा प्रकाशित

कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले काम गर्न दिएन भनेर झुटो बोलेको भन्दै प्रधानमन्त्रीलाई त्यसको प्रमाण पेस गर्न चुनौती दिनुभएको छ । बुधबार आफ्नो समूहको काठमाण्डौ भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यो पार्टीले काम गर्न दिएन भनेर ओलीले दिउँसै रात पारेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीले केको घेराबन्दी गर्यो ? उहाँले प्रमाणसहित भन्न सक्नु हुन्छ ? पार्टीले सरकारबाट उहाँले गर्न खोजेको कुन काममा बाधा हाल्यो ? एउटा मात्रै प्रमाण दिनुहोस् । म केपी ओलीलाई चुनौती दिन चाहन्छु यो मञ्चबाट । एउटा प्रमाण । पार्टीको यो निर्णयले, पार्टीका यी नेताहरुले मलाई यो काम गर्न खोज्दा दिएनन् भनेर एउटा प्रमाण पेस गर्न म चुनौती दिन चाहन्छु केपी ओलीलाई । बरु पार्टीले यसो गरौँ भन्दा त्यो नगरिकन उल्टो–उल्टो गरेको हुनाले बिग्रेको हो भनेर म स्पष्ट राख्न चाहन्छु ।’

कोरोना महामारी सुरु भएका बेला महामारीलाई नियन्त्रण गर्न केन्द्रदेखि तल्लो तहसम्म संयन्त्र बनाऔँ भन्दा आफ्नो सुझावलाई व्यङ्ग्य गर्दै हिँडेको उल्लेख गर्दै उहाँले सरकार स्वयं स्वास्थ्य सामग्री खरिद प्रकरणमा भ्रष्टाचारमा मुछिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर कलङ्कको टीका लगाएको नेता दाहालले टिप्पणी गर्नुभयो । पटक पटक पार्टी फुटाउने प्रयास असफल भएपछि पछि ओलीले प्रतिनिधि सभा विघटन गरेको आरोप दाहालले लगाउनुभयो ।

उहाँले प्रधानमन्त्री ओलीले आफ्नो निर्णयलाई राजनीतिक निर्णय भन्दै सर्वोच्च अदालत र निर्वाचन आयोगलाई दबाब दिँदै आएको उल्लेख गर्दै ओलीकै ‘जोकर पन’को पछाडि लागेर निर्णय भए देशमा ‘आँधीहुरी बतास’ आउने चेतावनी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू