अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

विज्ञहरूको संयुक्त विज्ञप्ति – ‘कामचलाउ सरकारका परराष्ट्रमन्त्रीले भारतमा सन्धि–सम्झौता नगरून्’

बिआरटीनेपाल २०७७ पुष २९ गते ८:१३ मा प्रकाशित

विभिन्न क्षेत्रका १५ जना विज्ञ तथा बौद्धिक क्षेत्रका व्यक्तिले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमणका क्रममा दीर्घकालीन महत्त्वका कुनै पनि सन्धि–सम्झौता गर्न नहुने बताएका छन् । बुधबार संयुक्त विज्ञप्तिमार्फत विज्ञहरूले वर्तमान सरकार स्वतः कामचलाउ भइसकेकाले औपचारिक भ्रमण पनि अनुपयुक्त हुने र सन्धि–सम्झौता भने गर्नै नहुने बताएका हुन् ।

प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यहरू प्रतिनिधि सभा सदस्य नरहि उनीहरूको हैसियत कामचलाउ हुन गएको विज्ञ तथा बौद्धिक क्षेत्रका व्यक्तिहरूको निष्कर्ष छ । लोकतन्त्र र संविधानवादमा आधारित सुशासनमा विश्वास गर्ने कुनै पनि सरकारले अहिलेको अवस्थामा दीर्घकालीन प्रकृतिका र नीतिगत निर्णय नगर्ने र गर्न नहुनेमा उनीहरूको जोड छ ।

‘अझ वैदेशिक मामिलामा त सरकारले कुनै सन्धि वा सम्झौता, समझदारी वा दीर्घकालीन दायित्व सिर्जना हुने जस्ता काम गर्ने कुराको कल्पना पनि गर्न सकिँदैन’, विज्ञप्तिमा भनिएको छ । असहज अवस्थाको लाभ उठाइ विगतमा गरिएका र गराउन खोजिएका सन्धि–सम्झौताबाट सिर्जित इतिहासको भारी बोकिरहन अभिशप्त रहेको भन्दै बौद्धिक व्यक्तिहरूले कुनै पनि सन्धि–सम्झौता नगर्नका लागि ध्यानाकर्षण गराएका छन् ।

‘राष्ट्रिय सहमति विना कुनै पनि राष्ट्रिय सरोकारका मामिलामा मुलुकलाई न्यून लाभ हुने वा तत्काल न्यूनाधिक लाभ हुने जस्तो देखिए पनि दीर्घकालमा त्यसबाट क्षति पुग्ने वा गम्भीर दायित्व सिर्जना हुने गरी सहमति जनाउने वा समझदारी गर्ने वा त्यस प्रकारको कुनै पनि दस्तावेजमा हस्ताक्षर गर्नेजस्ता काम–कारबाही नगर्नका लागि हामी सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा इन्दिरा दली, डा.ऋषि अधिकारी, कृष्ण ज्ञवाली, डा. खगेन्द्र प्रसाईँ, दीपेन्द्रबहादुर क्षत्री, निनु चापागाईँ, मानवी पौडेल, युवराज पाण्डे, लीलामणि पौड्याल, सूर्यनाथ उपाध्याय, डा. सूर्यराज आचार्य, सोमलाल सुवेदी, शारदाप्रसाद त्रिताल, डा. शूरवीर पौड्याल र हिरण्यलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू