अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२८ | Colorodo: 07:43

ट्रम्पलाई पदबाट हटाउने प्रस्ताव अमेरिकी संसद्को तल्लो सदनबाट पास

बिआरटीनेपाल २०७७ पुष २९ गते ७:३८ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउने प्रस्ताव अमेरिकी संसद्को तल्लो सदनले पास गरेको छ । हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट बुधबार पास भएको प्रस्तावमा गत बुधबार संसद् भवनमा भएको हिंसालाई ट्रम्पले प्रोत्साहित गरेको आरोप लगाइएको छ । डेमोक्र्याटहरूले संसद्मा राखेको प्रस्तावमा ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स तथा मन्त्रिमण्डललाई आग्रह गरिएको थियो ।

तर उपराष्ट्रपति पेन्सले अमेरिकी संविधानको २५औं संशोधनमार्फत ट्रम्पलाई हटाउने कुरा अस्वीकार गरेपछि संसद्मा मतदान भएको हो । ट्रम्पलाई हटाउनुपर्छ भन्ने प्रस्तावमा २२३ जना सांसदले मतदान गरेका थिए । त्यस्तै विपक्षमा २०५ मत परेको थियो । ट्रम्पलाई २५औं संशोधनबाट हटाउनुपर्छ भन्ने पक्षमा रिपब्लिकन पार्टीका एक सांसदको पनि मत आएको थियो ।

डेमोक्र्याटहरूले राष्ट्रपतिमाथि दोस्रोपटक महाअभियोग लगाउने प्रक्रिया पनि औपचारिक रूपमा सुरु गरिसकेका छन् । अमेरिकामा नोभेम्बर ३ मा भएको चुनावमा विजयी भएका जो बाइडेनको जित उल्टाउने प्रयासस्वरूप ट्रम्पले आफ्ना समर्थकलाई संसद्मा आक्रमण गर्न प्रोत्साहित गरेको आरोप लगाइएको हो । हाउस अफ रेप्रिजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी लोकतन्त र संविधानमाथि नै खतरा रहेकाले तत्काल पदबाट हटाउनुको विकल्प नरहेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू