अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०५ | Colorodo: 03:20

कोरोना सङ्क्रमणका कारण विदेशमा थप तीन जना नेपालीको ज्यान गयो

बिआरटीनेपाल २०७७ पुष २६ गते ८:१० मा प्रकाशित

कोरोनाको सङ्क्रमणका कारण विदेशमा थप तीन जना नेपालीको ज्यान गएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का अनुसार यो हप्ता बेलायतमा दुई जना र मलेसियामा एक जनाको ज्यान गएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या २० देशमा तीन सय १७ पुगेको छ ।

सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८ सय ४६ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ तीमध्ये ५१ हजार एक सय १६ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९३ प्रतिशत हो । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो हप्ता मलेसिया, साउदी अरब, जापान, दक्षिण अफ्रिका, बेलायत भारत र संयुक्त अरब इमिरेट्समा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

नेपालमा कोरोना सङ्क्रमितको दर कम हुँदै जानु सकारात्मक भए पनि कोरोनाको दोस्रो लहरको सम्भावना नटरेको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाले बताउनुभयो । अझै पनि सतर्कता नअपनाउने र खोप आउने समयसम्म स्वास्थ्य सुरक्षामा ध्यान नदिने हो भने नेपालले अहिलेको भन्दा पनि ठूलो क्षति व्यहोर्न सक्ने उहाँले स्पष्ट पार्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू