अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३३ | Colorodo: 06:48

अमलेखगञ्जबाट लोथरसम्म पेट्रोलियम पाइप जडानको काम सुरु

बिआरटीनेपाल २०७७ पुष २६ गते ७:३६ मा प्रकाशित

बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ ।मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पुर्याउने लक्ष्यसहित काम शुरु भएको नेपाल आयल निगमले जनाएको छ । नेपाल–भारत पाइप लाइन संयुक्त अध्ययन समुह नेपालतर्फका संयोजक वीरेन्द्र गोइतले अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनलाई अगाडि बढाउनेबारे अध्ययन भइरहेको बताउनुभयो ।

मोतिहारीबाट अमलेखगञ्जसम्म सञ्चालनमा रहेका पेट्रोलियम पाइप लाइनमै पाइप जोडेर लोथरसम्म विस्तार गरिनेछ र यसका लागि नेपाल तथा भारत सरकारबीच आपसी समझदारीपछि सर्भे सकिएपछि संयुक्त कार्यदलले डिपिआर कार्ययोजना मोडालिटीसम्बन्धी काम गरिरहेको छ ।

लोथरमा एक लाख किलोलिटर पेट्रोलियम भण्डारण हुने बताइएको छ । यसअघि २०७६ भदौदेखि मोतिहारीबाट सो पाइप लाइनमार्फत अमलेखगञ्जस्थित निगमको डिपोमा डिजेल ल्याउने गरेकामा अब एक वर्षभित्र सोही पाइप लाइनमार्फत पेट्रोल ल्याउने गृहकार्य शुरु भएको एनओसी प्रदेश–२ प्रादेशिक कार्यालयका प्रमुख भरत रेग्मीले बताउनुभयो ।

मोतिहारीबाट रक्सौल अमलेखगञ्जसम्म नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइनबाट अहिले डिजेल आउने गरेको छ । अमलेखगञ्जबाट लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार भई सञ्चालनमा आएपछि पश्चिमी तथा उत्तरी नेपालमा पेट्रोलियम पदार्थको अभाव समाप्त भएर जाने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू