अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१६ | Colorodo: 23:31

स्वतन्त्रता

बिटु के सी २०७७ पुष २४ गते ११:५० मा प्रकाशित

तिमी आगो बालेर
उज्यालोको भ्रममा
खुसी छौ भने
मेरो भन्नु केही छैन
मलाई माफ गर
म बधाई दिन सक्दिन

आगोको प्रकाश
स्थायी उज्यालो होइन भनेर
म तिमीलाई बुझाउन सक्थे
यदि
तिमी बुझ्ने
सामर्थ्य राख्थ्यौ भने
खैर
नजलोस्
मेरो जस्तै
सपनाका अन्य घरहरू
केवल
कामना मात्र गर्न सक्छु

तिम्रो भ्रमित
उज्यालो रापले
पोल्न सम्म पोल्यो
सक्दासम्म
धुवाँको मुस्लो पनि
थेग्न नखोजेको कहाँ हो र !
तर
निसास्सिए श्वासहरू

जुरमुराएको छ
म भित्र
आज
अनौठो शक्ति
त्यसैले त
यो घनघोर अँध्यारोसँग
किञ्चित डर लागेको छैन
किनकि
यही अँध्यारो भित्र अनागिन्ति
उज्यालो प्रकाशहरू
सलबलाएको देख्दै छु म

आज
बधाई
म आफैलाई
तिम्रो सङ्कुचित
उज्यालोको परिभाषाबाट
स्वतन्त्र भएकी छु

प्रतिक्रिया