अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०० | Colorodo: 04:15

आत्म स्थापना खोज्ने कला सङ्गीत

गोपी मैनाली २०७७ पुष २३ गते ९:११ मा प्रकाशित

(निबन्ध)

बदलिँदो मानव इतिहास र गतिशील जीवनशैलीको परिवेशसँग कलागत मान्यता र मानव मनको मूल्य प्रायः अपरिवर्तित रहन्छ । मनको सूक्ष्मतम पारमा कलाको अस्तित्व स्वकीय स्थानमा रहेको हुन्छ । बस्तुगत पनि होइन, यो सापेक्षिक रहन्छ मन र यसको आवृत्ति अनि परिवेशसँग । यो अरचित ‘स्व’ विधानमा अदृश्य अस्तिवान छ । त्यसैले यसको महत्तम परिवेश परिगेल्नु अति कठिन र गहन साधनाको कुरा हो ।

कलाकार भन्ने गर्छन् सम्प्रेषण त सङ्गीतको सहजतामा रहन्छ, पारखीहरू सङ्गीतको स्वाद लिन्छन्, संयोजन कुशाग्रता विश्वकर्माको कौशल जस्तै शिल्पमा देखिन्छ, स्वरका धनीहरू मुक्तकण्ठमा गाउँछन्, गाउन नसक्नेहरू गुनगुनाएर पनि मनमनका नारायण गोपाल वा लियो सायरा बन्दछन् ।

सङ्गीत भाव सम्प्रेषण, कलाशिल्प र हार्दिकता निष्पादनमा अरू विधाभन्दा प्रभावपरक रहन्छ । मुनामदनका गीतिश्लोकमा ग्रामीण नेपालीको दुखी सुस्केरा पोखिएको छ । असीम दुखका प्रेमीहरू रेज्सो सेरेसको उदास आइतबार सुनेर जीवनबाट बिदा लिन्थे । प्रभावको योभन्दा ज्वलन्त उदाहरण के हुनसक्छ ? अतिप्रभावका कारण विश्व साहित्यमा यसलाई हङ्गेरियन मृत्यु गीत भन्ने नाम नै दिइयो र अतिप्रभावका कारण आत्महत्या रोक्न गीतलाई प्रतिबन्ध नै लगाइयो ।

कला सामयिक प्रयोगका दृष्टिमा सताव्दीऔंदेखि प्रभावोत्पादक रूपमा प्रष्टिदै आएको प्रमाण हामीसँग छ । अतिरञ्जन, मनोरञ्जन, सन्देश, शिक्षा जेजसका अर्थमा लिऔँ, त्यो अभिव्यञ्जना हो अन्तरङ्गको र अन्तरङ्ग प्रकाशन कलाको अन्तिम साध्य पनि । हिजो धर्म र दर्शनमा सन्दर्भ सामग्री बटुल्ने गर्थ्यो, त आज दिग्भ्रमित मानिसको मनोविक्षिप्ततालाई ओकलिरहेछ । बितेको समय फर्केर हेर्दै आजमा उभिएर भोलि नियाल्दा निश्चिय नै सरल थियो, त्यसैको सोसापेक्ष्यता कलाकर्म देखियो । अतिरश्मि र तिलस्मीको जनश्रुति हजुरबुबा, बुबा हुँदै हामीसम्म आइपुगेको छ । हामी यसैलाई जीवनका अर्थमा स्विकार्दै आएका छौ,–आजको ‘स्व’ अस्मिता त्यही हो । अस्मिता सन्धानमा कला साधना केन्द्रित रहने हाम्रो मान्यता हो । जीवनको यात्राका आरोह आवरोहमा कला पनि त्यही मार्ग पैल्याउँछ ।

नारदको एकतारे र सरस्वतीको वीणाले मनको तल्लीनतालाई भङ्ग नगरे पनि त्यहाँको अर्थ प्रक्षेपण त्यहाँदेखि यहाँसम्म आइपुग्दा सम्प्रेषणकै हिसाबमा पनि आस्वादमा पातलिएको छ । एक जमाना थियाृ, पूर्वका तानसेन, भातखण्डे, दिगम्बर राग आलाप्थे र तरानाभरि स्वस्थापन्न भावावयवको धीमा आवृत्ति खिच्थे । पश्चिमका मोजार्ट र विथोभान मनोमूल्यमा अझ सरलित नभएको होइनन्, स्वर अनुच्छेदहरू धीमा रुपाकृतिमा पोख्थे । जीवन जीग्ज्याग् भएर गयो त कसरी कला सरलताको नैतिक पाठ गाउन बाध्य भैरहोस ? इन्द्र धनुष मेटिइसकेको आकाशमा इन्द्र धनुषको कल्पना गर्नु, काल्पनिक रूप र अवयव चढाउनु कलाको क्षणिक अभिव्यञ्जना बाहेक के हुनसक्छ ? उसो भए स्थायित्व कला खोज्नै सकेन त ? यी आधारभूत प्रश्नमा आजको मनोविज्ञान, सङ्गीत र साहित्यको समन्विति भएको छ ।

कलाको स्थायित्व नै उसको आद्यनूतनता हो, भनौँ सर्वकालिक हृदयस्पर्शी । कलाविदहरु भन्ने गर्छन्– सङ्गीत कलाको प्रभावमा स्थीयत्व हुन्न । कति सत्य असत्य त्यो पनि प्रश्नै रहोस् । मनोविज्ञानको सजीव संरचना सङ्गीत कलाले साहित्य र चित्रभन्दा प्रभावोत्पादक रूपमा लिएको हुन्छ । मनको अव्यक्त तहमा रहेको उत्पीडन, उल्लास, उत्सर्ग, विसर्ग अनुभूतिहरूले सङ्गीतको माध्यमबाट सहज पोखिने अवसर पाउँछ । मनको उदात्तीकरण सङ्गीत हो । उदात्तीकरणको स्वानन्द सङ्गीतकलाको प्रथम विलक्षण हो, सुखानुभूति होस् कि दुखानुभूति होस् । दोस्रो, परास्वाद र त्यसपछिको प्रभाव यसको आफ्नै महत्ता हो ।

आजको पश्चिमी सङ्गीत विसर्ग र उत्सर्गको सङ्गीत, उत्पीडन र उल्लासको सङ्गति, न तानसेनको तानपुराको हार्दिक तराना उनीहरूको कला निसृति हो न दीपक रागकै हार्दिक सम्मोहन उनीहरू खिच्न सक्छन् । स्थायी हराएका अन्तराजस्तो जीवनलाई प्रतिबिम्बित गरिरहेको छ । र पनि जाज, एप्स्टाइन, विटल्स, सायरा, सेरेस कति प्यारा र विश्वव्यापी छन् ।

जीवनको सत्यलाई सङ्गीतले कसरी सहजै समाउन पुग्यो बेसुरा सुर र लयहीन ‘बिट’ मा । कसरी हिजोको अर्थबत्तालाई तख्तामा सिउरिदियो ? हामी पनि तिम्रै अर्थमा जीवनलाई बोलीमै पोखिरहेका छौ भनी । हाम्रो अन्तरङ्ग र तिम्रो अन्तरङ्ग बैसम्य आफूमा भए पनि साम्य छ जीवन परिवेश र सीमा संवेदनाहरूमा । दुई कलाहरू आपस्तमा गफ–गाफ गर्दा हुन् । मोजार्ट वा तानसेन, एप्स्टाइन वा जाज एकै उद्गमस्थलका हार्दिक ढुकढुकी हुन्, अनुभूति सम्प्रेषणमा दुवै एकै अर्थमा कसरी साम्य छन् । नारायण गोपाल र लिओ सायरा वा ब्रुनो मार्स र ओमविक्रमका ढुकढुकी एकै हुन् । भूगोल र फासला टाढिदैमा मनभित्रका कदापि संवेगहरू टाढिँदैनन् ।

हिजो एक हूल युवा सामाजिक विसङ्गति र मूल्यहीनताका कारण ग्रीन्स वर्ग मण्डली हिप्पी बनेर बेसुरा ताना आलाप्न पुगेथे । अस्वीकृतिका स्वरहरू घन्काउन पुगेथे । जटिलताग्रस्त जीवन कथालाई, भनौँ ‘विस्मय वृत्ति’ लाई हाम्रो मन पनि वैराग्यमा रुलाउने गरी स्वच्छन्दताका नारा दिन पुगेथे । युद्ध, विभीषिका र विनासबाट क्षतविक्षत विश्वका दारुणिक मनको पोखाइमा सेरेस रहे ‘उदास आइतबार’ मा । सेरेसका गीतले मात्र कतिले जीवन अवासन गरे । बाँच्नुको आस्वादन कति सरल अनि लघु बनाउने विचार थियो उनीहरूमा । बिटल्स एल एस डी पिएर बेसुरा अलाप्छन् । संसार सङ्कीर्ण छ, संक्षिप्त छ, यहाँका यावत जीवन वृत्तिहरू भिन्न भिन्न यात्रामा छन्, असमान्तरित र अस्मेल छन् । मानव पीडाले क्षत विक्षत मन नै सबै युवा सङ्गीत स्वरले वेफिक्री पोखेको हो ।

सङ्गति खोज्नु जीवनको अस्मिचेतना हो तर बिटल्स सङ्गीतमा आफू पोखिएर बज्न थाले, आफू निख्रिएर पोखिन थाले । समयको अस्वीकृतिहरू अलाप्न थाले । भनौँ स्वकीय सत्तालाई भुलेर सङ्गीतलाई नै महत्ता प्रदान गर्न थाले । त्यहाँ न सङ्गीतको सन्धान छ, न लयको अन्विति वा मीठासको माधुर्य नै । छ केवल आफू परित्यक्त भएका अन्तरउद्बुदी र विस्मयको आत्मकथा । पोखिएको छ आफू र आफ्नै समाजको मेलानकोली ।

स्वायत्त सत्ता सम्झिएको सङ्गीतमा जीवनको सत्ता गुम्नु जटिल बन्दै गएको समय प्रवाहसँग जीवनको तदात्म्यता कायम नरहेकोले हो । कलाको मनोवैज्ञानिक यथार्थ अनुरूप ¥हसोन्मुख मानवीय मूल्य ब्यक्तिदा त्यहाँ मानव सत्ताको स्थानान्तरण नभै कलाअस्मि मात्र प्रष्टिएको हुन्छ । बिटल्स मण्डलीका गीतसङ्गीतमा पनि लयसन्धान नभएर समयसन्धान (चार्म बाद्यको) ताललाई समाउन पुग्दछ । वस्तुतः बिटल्स परम्पराले एप्स्टाइन, जाज जस्ता सङ्गीत प्रयोगी भेट्टायो, यो कलाको प्रवीण उपलब्धि थियो । मनोवैज्ञानिक जीवन दर्शन लयहीन सङ्गीत साधनाले लियो विन्दासीपनमा । छिन्न भिन्न मानवको अन्तरकथाको यथार्थ ओकलेर । यो नै त्यस समयको युवा मनको उदात्तीकरण, जैवनिक यथार्थ थियो । त्यसैले यो अर्को कला सत्य । चित्र साम्यक पदावली–ध्वनि निर्वाह गरायो, त्यसैले प्रयोगवादी पनि ।

आधुनिक सङ्गीत दर्शनलाई गहिरिएर हेर्ने साधन बन्यो, अत यो प्रायोगिक धरातलमा पनि जीवन सत्य बन्यो । सन्दर्भको सङ्गीत यस कारण पूर्वीयभन्दा पश्चिमी हो । पूर्वीय सङ्गीत साधना पश्चिमी संरचनाका तुलनामा सन्धान र सिद्धान्तमा फराकिलो छ । सङ्गीतका सात स्वर साहित्यका नवरस पूर्वीय दर्शन हो, ऋषिमुनि (दार्शनिक) का आविष्कार हुन् । सङ्गीतक सातस्वरले काव्यका नवरसलाई आफूमा समाहित गर्छ । तर छन्दविहीन (व्लैङक भर्स) कविता र लयहीन सङ्गीतमा पश्चिम पहिला पोखिएको हो ।

सामाजिक रितिथितिप्रति अस्वीकृति र आफैमा झीनो विश्वास सिवाय सहमति नभएको क्षतिग्रस्त जीवनगाथालाई सबै हदमा समाउन पुग्ने बौद्धिक सङ्कटका युवा समुदाय परित्यक्त, शिथिल र दिग्भ्रान्त यात्रामा अवसाद बनेको छ । नैतिक मूल्य, आदर्श र प्रेमजस्ता मानवीय सद्गुण केवल रितिको रूपमा लिई अस्वीकार गर्ने यिनीहरू औपचारिक आस्थालाई पटक्कै विश्वास गर्दैनन् । यतिखेर गाढा विसंगतिवादलाई अगि सार्दै छन् । जब मानिसमा स्थिति विपर्यता आउँछ, लघुताभाषको जन्म हुन्छ । लघुताभाषको उत्कर्ष विन्दु शून्य परिणति हो । यो पाश्र्वन परिद्वेलनमा रहन्छ, मनोआवृत्तिमा उद्वेलित रहन्छ । यो विषादमा रहन्छ ।

बाँच्नुको आस्थाहरू गुमाइ सकेपछि खोक्रोपना सम्हालेर कसरी मानव सत्ता आफूभरि उभिन सक्छ भन्ने आफैप्रतिको चुनौतीमा बिटल्स सङ्गीत देखियो । सेरेसले देखाए । एक दिन सिद्धार्थ बुद्धले पनि निरिस्वरताको यस्तै गीत गाउँथे रे (जसलाई हामीले बुद्धत्व वा सिद्धि भन्दै आएको छौ) । अर्का साहित्यकार कामु र ल्फुवर्ट मानव सत्तालाई हियाउन पुगे तर उनीहरूको साहित्य सिर्जनाले पनि मीठो प्रगीत सन्धान गरेथ्यो । ध्वन्यानुभूति संहालेको थियो । पारिजातको शिरिसको फूल र महत्ताहीन झन्डै निरिश्वरताको सन्धान थियो । तर विसङ्गतिको अतिशयता बेकेटको नाटक, बिटल्सका सङ्गीत, हिप्पीका दर्शन, पङ्कको यथाथएमा पाइन्छ । हङ्ग्र र एङ्ग्री जेनेरेशन पनि यस्तै असहमतिमा थिए । उनीहरूको पृष्ठभूमि त्यही थियो होला र यथार्थ पनि उस्तै ।

आफू भुलेको कलामा स्वस्थानिकता रहन्छ । यस कारण ज्ञान र कलामा फरक भयो । ज्ञान आफूबाट केही झिकेर दिइने बस्तु, कला आफू नै दिइने बस्तु । मूल्य र सङ्गति संधानका प्रश्नहरुमा मानवीय सत्ताले आफू व्यक्तिने सजिलो, सरल र सम्प्रेष्य माध्यमका रूपमा सङ्गीतलाई छान्यो । यसको जीवन छोटो छ, प्रभाव प्रवाहमा तैपनि चरम ।

जो आफू भुलेका समुदाय–व्यक्ति छन्, ती सङ्गीत साधनाबाटै पोखिएका छन् । वोनी एम, टिना टर्नर, माइकेल ज्यम्क्सन, लियो सायरा र आजभोलिक कैयन गायक अभियान्ताहरु आशाका सपनाबाट बज्र्यित थिए, निराशा धनी थिए, मनोउत्पीडन् र यस्तै विस्मिताको उकुस मुकुसकुरालाई सङ्गीत साधनाकै माध्यमबाट मान्यता सँग विद्रोह र आन्दोलन गरे । विद्रोह र आन्दोलनले निजत्वको स्वायत्त सन्धान खोज्यो । उनीहरूबाट पोखिएको असीम लघुताले विस्मयबृत्ति, विस्मयले विसङ्गति र विसङ्गतिले मृत्युबृत्ति समेत जन्मायो । यसले बाँकी सभ्रमले मात्र वाँकी जीवनको अस्मिता दावा गर्न सक्दैन । एप्स्टाइन, ववी, किम वाइल्ड यसैको वकालतमा बिटल्स र रक उण्ड रोल गाउँछन् । यो सङ्गीत शैली उनीहरूको संगतिहीन जीवनकथा, साँगोपाँगोविनाको जीवन पद्धति हार्दिकताविनाको सिङ्गो अभिव्यक्ति हो ।

सङ्गीतले यसरी आत्मस्थापना खोज्दै आएको छ । माइकल ज्याक्सनदेखि ब्रुनो मार्स, म्याडोनादेखि रिहान्नासम्म मनलाई पोखिरहेका छन् । मनहरू सुखभन्दा दुखमा पोखिन्छन्; भावमा, आशुमा र शब्दमा । सङ्गीत आफू भुलेर आफैलाई पोख्ने माध्यम हो, त्यो पूर्वीय होस वा पश्चिमी । कन्दरा, कुटुम्ब वा नेपथ्य होस वा रोलिङ स्टोन, ब्ल्याक सव्वाथ वा विटल्स, सबै नै आत्मस्थापना खोज्ने कला हुन् । निवमानीकृत हुँदै गएको एक्काइसौँ शताब्दीको समाजले उपलब्धि र कोलाहलबिच आफूलाई कसरी पोख्दै जाला ?