अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०१ | Colorodo: 05:16

७७ वटै जिल्लामा खिचिने ‘४ दुना ९’ बिहीबार देखी प्रसारण हुने

बिआरटीनेपाल २०७७ पुष २१ गते ८:२७ मा प्रकाशित

काठमाडौँ । नेपालको पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ निर्माण गरिएको नयाँ पर्यटकीय सामाजिक हास्य टेलिचलचित्र ‘४ दुना ९’ आउँदो बिहीबारबाट नेपाल टेलिभिजनमार्फत प्रसारण हुने भएको छ । नेपालको ७७ वटै जिल्लामा विभिन्न समयमा खिचिने यस टेलिचलचित्र यस पुस २३ गतेबाट प्रत्येक बिहीबार साँझ ७ बजे प्रसारण हुने बताइएको छ । मङ्गलवार नेपाल पर्यटन बोर्डको हलमा आयोजक कार्यक्रममा प्रसारण समय र टेलिभिजनबारे जानकारी गराइयो ।

कार्यक्रममा अतिथिको रूपमा उपस्थित हुनुभएका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मीले पर्यटन बोर्डले गर्नुपर्ने काम ‘४ दुना ९’ टिमले गरेको भन्दै कामको प्रशंसा गर्नुभयो । उहाँले नेपालको पर्यटकीय क्षेत्रहरूलाई एक टेलिचलचित्रमार्फत देशव्यापी बनाउन खोजेको भन्दै सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गर्नुभयो । ‘पर्यटन बोर्डले गर्नुपर्ने काम कलाकारहरूले गर्नुभएको छ, यो त हाम्रो लागी निकै राम्रो कुरा हो । पर्यटन बोर्डले गर्न सक्ने सहयोग गर्नेछ ।’ रेग्मीले भन्नुभयो ।

यस्तै कार्यक्रममा उपस्थित हुनुभएका सूचना तथा सञ्चार मन्त्रालयका प्रेस विज्ञ राजेन्द्र मानन्धरले अहिलेको कोरोनाको अवस्थामा पनि देशको पर्यटनलाई उठाउन मद्दत गरेको भन्दै टेलिचलचित्र टिमलाई शुभकामना दिनुभयो । उहाँ भन्नुहुन्छ, ‘कोरोना भाइरसले आफै बिपदमा परिरहनुभएका कलाकारहरूले यति राम्रो काम गर्नुभएको छ । यो टेलिचलचित्रले जस्तै नेपाल टेलिभिजन पनि सबै वर्गको समावेशी टेलिभिजन बन्ने प्रयत्न गरिरहेको छ ।’ पर्यटकीय सामाजिक हास्य टेलिचलचित्र ‘४ दुना ९’को पहिलो चार भाग नेपालको पर्यटकीय क्षेत्र जुम्ला र मुगुमा खिचिएको जानकारी गराइयो । यस्तै कार्यक्रममा जुम्ला र मुगुका मनोरम दृश्य समेटिएको प्रोमो पनि देखाइएको थियो । टेलिचलचित्रका निर्देशक छेडुप लामाका अनुसार काठमाडौँबाट जाने केही कलाकारसँगै अन्य अधिकांश स्थानीय कलाकारको अभिनय रहेको छ ।

टेलिचलिचित्रका मुख्य कलाकार राजाराम पौडेलले छायाङ्कनको क्रमको अनुभव सुनाउँदै भन्नुभयो, ‘सुरुको चार भाग खिच्न हामी जुम्ला र मुगुमा पुगेका थियौँ । त्यहाँको मौलिकताको प्रशंसा गरेरै सक्दिन, त्यहाँको रीतिरिवाज, रहनसहनले मेरो मन तानेको छ । हामीले त्यही मौलिकतालाई पर्दामा उतार्ने कोसिस गरेका छौँ । दर्शकलाई अवस्था मन पर्नेछ ।’

जुम्ला र मुगुमा चार भाग खिच्नकै लागी १३ दिन खर्चिएको टेलिसिरियलका निर्देशक छेडुप लामाले जानकारी दिनुभयो । ‘नेपालको पर्यटन, संस्कृति, प्राकृतिक विविधता, भाषा, जात, धर्म तथा विभिन्न पर्वहरूको प्रचार तथा त्यसको संरक्षणका लागी बज्र लिङ्क मिडियाले यसअघि पनि काम गर्दै आएको छ । यस पटक हामी हाम्रो नेपालको पर्यटनलाई देशव्यापी बनाऔँ भनेर हाम्रो तर्फबाट सोचेर यो टेलिचलचित्र निर्माण गरेका हौँ ।’ निर्माण कम्पनी बज्र लिङ्क मिडियाका अध्यक्ष समेत रहनुभएका निर्देशक लामाले भन्नुभयो ।

साथै निर्माण कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशको आर्थिक विकासका लागी पर्यटनको मुख्य भूमिका रहने महसुस गरी हामीले पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले देशका विभिन्न जिल्लामा पुगी माथि उल्लेखित पक्षहरूलाई समेटी कथा खोजी त्यसलाई सोही स्थानमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूलाई (तालिम दिई) समावेश गरी छांयाकन भइरहेको छ ।

विभिन्न जिल्लाका जिल्लावासी, स्थानीय सरकारको सहयोग, जिल्लामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक र जिल्लामा रहेका युवाहरूको रोजगारी लगायतका क्षेत्रमा यो टेलिचलचित्रले महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास राखेका छौँ ।’

यस टेलिचलचित्रको प्रत्येक भाग ३० मिनेट बरावरको हुनेछ । ३० मिनेटको एक भाग समेटिने यस टेलिचलचित्र प्रत्येक जिल्लामा ३ देखी ५ भाग सम्म छांयाकन हुने बताइएको छ । पर्यटनलाई सहयोग हुने हेतुले निर्माण गरिएको यो टेलिचित्रमा हरेक जिल्लाभित्र पर्ने प्रमुख हिमशृङ्खलाहरू, तालहरू, नदी नालाहरू, मन्दिर, गुम्बा, चैत्यहरू, प्रमुख जात्रा, पर्व, मेलाहरू, यहाँबसोवास गर्ने समुदायका लोक नृत्यहरू, जाति विशेष बाजा तथा भेसभुसा, गरगहना तथा लोक गीत सङ्गीत, व्यवस्थित पर्यटक लक्षित होटेल तथा लजहरू, यातायातको सुविधाको लागि राजमार्गहरू, विकास निर्माणका कार्यहरू आदि समेटिने बताइएको छ ।

यस टेलिचलचित्रमा राजाराम पौडेल, रवीन्द्र झा, रेसम बुढाथोकी, रामबाबु रेग्मी, अजय रेग्मी, गोविन्द सुनार, अस्मिता बस्नेत, सबिता अधिकारी, सङ्गम राई, दीप्त प्रकाश काश्यप, कविता न्यौपाने, सस्मिता गिरी, भगवती खड्का, रोहित खड्का, सिमरन, रिदम श्रेष्ठ लगायतको अभिनय रहनेछ । प्रवेश पोखरेल र गोकुल रावतले खिचिरहनु भएको छ भने रबिन भट्ट र सौखिन तिमल्सिनाको सम्पादन रहनेछ । टेलिचलचित्रमा कर्मा डी लामा, गणेश तामाङ र कुइसाङ तामाङ रुम्बाको लगानी रहनेछ । कथा लेखक रेसम बुढाथोकी हुनुहुन्छ ।

प्रतिक्रिया