अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२८ | Colorodo: 14:43

अन्तश्चेतना

दिपा राइ पुन २०७७ पुष १७ गते ९:१७ मा प्रकाशित

अशान्त मनलाई
शान्त आँखाले हेर्न चाहन्छु
अशान्तिको जरा कहाँ छ
अन्तरदृस्टी पगालेर
आकार दिन चाहन्छु
जुन आकार हेर्दा हेर्दै बिलाओस्
यो पन्च तत्त्वको भौतिकी
आफै भित्र ध्यानमा लिप्त भएर
जीवनको रहस्य हेर्न सकियोस्

जसरी प्रेमको आकार हुँदैन
न अर्थ र परिभाषाको सीमा हुन्छ
न प्रेममा कुनै सर्त हुन्छ
आफै मेटिएर पनि
आत्मासँगै प्रेमको अवशेष
बीज रूपमा
सर्वकालिक अनि सर्वातृक हुन्छ

त्यही विश्वासको तरङ्गहरू फैलिएर
हृदयमा ठोक्किए पछि
मन अशान्त भएको त होइन ?
कतै तिमीलाई चोट लाग्नु
र मलाई दुख्नु
कतै तिमी नै अशान्त हुनु
र मेरो मनमा बादल फाट्नु
तिमीले मलाई बेस्सरी सम्झिएर पछि
मेरो मनमा हलचल हुनु
एउटा आभास हुनसक्छ
म आफैमा हराई रहनु
जीवनको यात्रामा कहीँ कतै
तिमीलाई बिदा दिए पछि
सांसारिक मोह मिथ्या हुनु

विश्वासको धरोहर
भावनाको स्वीकृति
समयको सोच
खुसीको निर्णय
अनि जीवनको संवेग
सबै सबै
वेगसँग गतिमा छन्
आदिमकालबाट उस्तै छ

एकोहोरो हेरेर नियाल्छु
तेजसँग आएका समुन्द्री छालहरू
जीवनका आकाङ्क्षाहरू
हेर्दा हेर्दै त्यसरी बिलाई जान्छन्
यति खेर नै हो
मन विचलित हुने
हो ठिक त्यही क्षण
निःशब्द रहने
केवल साक्षी भावलाई
जागृतिको चेतमा चोबेर
म अन्तश्चेतना खोजिरहेछु ।

प्रतिक्रिया