अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५० | Colorodo: 12:05

कर्तव्य

युवराज मैनाली २०७७ पुष ६ गते ८:३३ मा प्रकाशित

वन डढेलो असावधानीका साथसाथै बाँसका झाङ्ग जुधेर पनि फैलने गर्दछ रे ! मन डढेलो पनि यस्तै न हो । सोचको मन्थन पन्छाउने सहज बाटो पनि यही नै हो । श्रेष्ठताको हुँकार, विचारको आकार प्रकारको ताँदो तन्काइ र कतैबाट कसैको आँखा सन्काइ आदि इत्यादिमा ढाड तपाईं अन्त गएर खोज्नै पर्दैन आफ्नै चोकचौतारामा देखेको भोगेको नै भो । कुनै बेला चौकचौतारामा, कुनाकन्दरामा देखिएको परिदृश्य र मुटुमा लागेका घाउ अचानोमा कुँदिएकै छन् । चेत कसमा छ र ? रात र दिनको सेरोफेरोझैँ निरन्तर रहँदोले मान्छेको चेतनशीलतामाथि नै शङ्काको बिउ पलाएर बोट बनेका बन्यै छन् । कुनै बेला अराष्ट्रिय तत्व भन्नु नै बापबैरी रिस साँध्ने मौका भनेझैँ अहिले पनि प्रवृत्तिको निरन्तरता रहेकै छ ।

विचरा रामबहादुरलाई आजको रात ननिदाउने रात परेछ । द्वन्द्वको आगो देशभर सल्किरहेको थियो । यहाँ अनिँदो रात त प्रायः ठाउँअनुसार छँदै थियो झन् राष्ट्रसेवक भएपछि त विशेष दबाबमा थियो । राज्यले व्यवस्था गरेको सीमित स्रोतसाधनको मार तिनीहरूमै परिरहेको थियो नै । पालो बदल्नु पर्ने थियो तर बदल्न सकिएन, कुनो मात्रै बदलियो । हिजोको अनिँदोले रामबहादुरले आफूलाई सम्हाल्दासम्हाल्दै सम्हाल्नै सकेन दुई घण्टासम्म ऊ मरेतुल्य बन्यो । केही अवधिपछि जब ऊ ब्युँझियो, ब्युँझिएर छामछुम गर्दा उसले आफ्नो राइफल भेट्टाएन । ऊ झस्कियो, आत्तियो । खल्खली पसिना आयो । उसको ढुकढुकी अनायासै बढ्यो, सम्पूर्ण देवीदेवता सम्झेर भाकल पनि ऊ अनायासै गर्न पुग्यो । रोदन अनायासै फुट्यो । घरपरिवारलाई सम्झन पुग्यो । उसको बेदना झन् बढ्यो । खोलामै फालहालेर जीवन बिसाउने सोच बनायो तर धेरैबेर त्यो सोच टिकेन, जीवनको मोह झन् जाग्यो । यो जगाइले यौटा उपाय पत्तो लगायो । आतङ्ककारीको तानाबाना बुन्यो ।

उसले इन्चार्जसमक्ष पुगेर सेल्यूट ठोक्दै जाहेर ग¥यो, ‘सर मेरो राइफल आतङ्ककारीले खोस्यो, बडो मुस्किलले ज्यान………’ उसको कुरा पूरा हुन नपाउँदै एक जोडदार बुट खाएर ऊ पर्लक्कै ढल्यो । इन्चार्ज गर्जिए ‘‘यो सालेलाई हत्कडी लगाओ ।’’ ऊ हत्कडीसहित जेलमा कोचियो ।

उसको राइफल इन्चार्जको खाटमुनि थियो ।