अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२२ | Colorodo: 08:37

सत्तरी वर्ष सम्म पेन्सन बढेन, नबढाए जे पनि गर्ने भुपु सिंगापुरे गोर्खाको चेतावनी

बिआरटीनेपाल २०७७ पुष ३ गते ९:२९ मा प्रकाशित

न्यु योर्क । अमेरिका बसिरहेका भुपु सिंगापुर गोर्खा प्यारामिलिटरीहरुले सन् १९४९ देखि पेन्सन नबढेको लगायतका विभिन्न मानवीय विभेदमा परेको बताएका छन्। उनीहरूले विभेद अन्त्यका लागि जस्तोसुकै सङ्घर्ष गर्ने चेतावनी दिएका छन् ।

कोरोना भाइरसको महामारीका बाबजुद हालै न्यु योर्कको ज्याक्सन हाइटमा सानो भेला गरी उनीहरूले यस्तो चेतावनी दिएका हुन् । ‘भुपु सिंगापुर गोर्खा पेन्सन एशोसियसन निकम्मा भयो,’ भुपु सिंगापुरे गोर्खा रमेशचन्द्र राईले भने, ‘उहाँहरूले वर्षौँ बितिसक्दा पनि कुनै नतिजा दिनु भएन।’

उनले काठमाडौँमा नाराबाजी गरेर समस्या उल्टो चर्किने बताए । ‘पहिला हाम्रो माग सिंगापुर सरकारसम्म पुग्नु प¥यो । गोर्खा मेजरले सबै सिंगापुरेहरुसँग बुझेर त्यो माग सिंगापुरको रक्षा मन्त्रालयसम्म पु¥याउनु प¥यो,’ उनले भने, ‘सिंगापुर सरकारलाई हाम्रो माग नै थाह छैन भने काठमाडौँमा जिन्दाबाद भनेर हुन्छ?’

भुपु सिंगापुरे गोर्खाहरूले कुनै पनि गोर्खा मेजरले उनीहरूको माग सिंगापुर सरकारसम्म नपुर्याएको दाबी गरे । ‘सिंगापुर सरकारको लागि हाम्रो माग कुनै ठुलो कुरा नै होइन,’ उनले भने, ‘हाम्रो माग नै सिंगापुर सरकारसँग नपुर्याउने गोर्खा मेजर दोषी हो ।’

भुपु सिंगापुरे गोर्खाहरूले यी लगायतका जायज माग राख्दा गोर्खा मेजरले पेन्सन नै खाइदिन्छु भनेर धम्क्याउँदै आएको बताए । अर्का भुपु सिंगापुरे गोर्खा सुवास मोक्तानले कम्तीमा पनि १५वर्ष सेवा गरेर पाएको पेन्सन कसैले पनि खान नसक्ने बताए । ‘सक्छौ भने मेरो पेन्सन खाएर देखाऊ,’ राईले चुनौती दिए ।

मोक्तानले गोर्खा मेजर सम्पूर्ण गोर्खाको प्रमुख भएकाले भुपु गोर्खाको जायज माग उनले सिंगापुर सरकार समक्ष पुर्याउनु पर्ने बताए । भुपु भारतीय गोर्खा तेजबहादुर राईले भारतीय गोर्खाको पेन्सन तीन पुस्ते हुने बताए । ‘भारतीय गोर्खाको पेन्सन श्रीमान् मरे श्रीमतीले र श्रीमती पनि मरे विवाह नहुन्जेल छोरा छोरीले पाउँछ,’ उनले भने, ‘सिंगापुरे साथीहरूको चाहिँ आफू मरे श्रीमतीले पनि नपाउने रहेछ ।’

भुपु गोर्खासमेत रहेका र संयुक्त राष्ट्रसङ्घका लागि पनि काम गरेका सामाजिक अभियन्ता सुमन थाम्सुहाँङले सिंगापुरे गोर्खाहरूलाई अन्याय भइरहेको बताए । ‘अवस्था कस्तोसम्म छ भने छोराछोरी सिंगापुरमा जन्मन्छन्, त्यहीँ पढ्छन्, हुर्किन्छन्, तर बाबु रिटायर भएपछि उनीहरू सबैले सिंगापुर छोडेर नेपाल फर्किनु पर्छ ।’ उनले भने, ‘सिंगापुरेको छोराछोरीलाई एडजस्टमेन्टको प्रोब्लम हुन्छ । कति त डिप्रेसन मै जान्छन् । यो मानवीय मुद्दा हो ।’

उनले सिंगापुरे गोर्खाको अधिकारको लडाइँ जायज भएको र अन्तर्राष्ट्रिय अदालत गए जित्ने बताए । भुपु गोर्खा राईले पेन्सन एसोसिएसनले छिट्टै नतिजा नदिए आफूmले अधिकारको आन्दोलनको अगुवाइ गर्ने बताए । ‘जिएम साबहरु तारको बारभित्र कतिन्जेल बस्नुहुन्छ? एक दिन त बाहिर आउनै पर्छ,’ उनले भने, ‘यिनीहरू कराएर केही हुँदैन भन्ने नसोच्नुहोस् । जे पनि हुनसक्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू