अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:११ | Colorodo: 10:26

“स्वास्थ्य सामग्री खरिदमा सहजीकरण मात्रै गरेको हुँ ”- स्वास्थ्य मन्त्री ढकाल

बिआरटीनेपाल २०७७ पुष ३ गते ८:२१ मा प्रकाशित

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको बताउनुभएको छ । सङ्घीय संसद प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा उपस्थित हुनुभएका मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा आफ्नो कुनै संलग्नता नभएको बताउनुभएको हो ।

उहाँले स्वास्थ्य सामग्री खरिदमा आर्थिक र अन्य विषयसँग सरोकार राख्ने र त्यसलाई प्रभावित गर्ने कुरामा आफ्नो संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ । तर आफूले मन्त्रालयको नेतृत्व गरेको हिसाबले महामारीको विरुद्धमा सहजीकरण गर्ने खालको सन्दर्भमा नीतिगत रूपमा मन्त्रिपरिषदमा प्रस्ताव पठाउने विषयमा मात्रै सहमति जनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यसमा मन्त्रीको हिसाबले, मन्त्रालयमा नेतृत्व गरेको हिसाबले आर्थिक र अन्य विषयसँग सरोकार राख्ने, त्यसलाई प्रभावित गर्ने खालको विषयमा मेरो संलग्नता नरहेको र महामारीका विरुद्ध सहजीकरण गर्ने खालको सन्दर्भमा नीतिगत रूपमा मन्त्रिपरिषदमा प्रस्ताव पठाउने खालको विषयमा मन्त्रीको हिसाबले सहमति जनाएको छु ।’

आफूले सहजीकरणका लागि मात्रै नीतिगत हिसाबले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने र तलबाट उठेको विषयलाई स्वीकृति दिने काम मात्रै गरेको बताउनुभयो । त्यसबाहेक अतिरिक्त कार्यादेश र अतिरिक्त हस्तक्षेप आफूले नगरेको पनि उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘भएका विषयहरुलाई सहजीकरण गर्न अप्ठ्यारो परिस्थितिको सामना गर्ने विषयमा नीतिगत हिसाबले मन्त्रिपरिषदमा यो प्रस्ताव लाने, तलबाट उठेको विषयलाई मैले स्वीकृति दिएको मात्र हो । यसमा अतिरिक्त कार्यादेश र अतिरिक्त हस्तक्षेपको विषय नभएको व्यहोरा पनि म सादरपूर्वक अनुरोध गर्न चाहन्छु ।’

मन्त्री ढकालले चैत ९ गते मन्त्रिपरिषद्को निर्णय भएअनुरूप र चैत ११ गते उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णयलाई कार्यान्वयन गर्ने सम्बन्धमा १२ गतेका निर्णयहरू भएको बताउनुभयो । तर आफू १२ गते १ बजेदेखि ३ बजेसम्म स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा सहभागी भएको र त्यसपछिका कुनै पनि कार्यक्रममा सहभागी नभएको समेत बताउनुभयो । त्यसपछिका सबै प्रक्रियामा स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशककै नेतृत्वमा कामहरू भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘१२ गते स्वास्थ्य सेवा विभागको आयोजनामा मन्त्रालयमा हामीले भेला गरेका थियौँ । त्यो कार्यक्रमको प्रमुख अतिथिको रूपमा म उपस्थित छु र एक बजेदेखि तीन बजेसम्म त्यो कार्यक्रम भयो । त्यस्ता कार्यक्रमहरू पनि चरण चरणमा भएका थिए । त्योभन्दा पछि सात वटा समूह छनोट गर्ने कुरा त्योपछिका अरू प्रक्रियामा सम्बन्धित विभाग र विभागको महानिर्देशक कै नेतृत्वमा यी कामहरू भएका हुन् ।’

खरिद प्रक्रियामा मन्त्रीको स्वास्थ्य विज्ञ सहभागी हुने विषयमा समेत मन्त्रीस्तरबाट कुनै निर्णय नभएको पनि मन्त्री ढकालले बताउनुभयो । तत्कालीन महाप्रबन्धकको तर्फबाट मन्त्रीको विज्ञ सल्लाहकार त्यो विषयको जानकार भएको कारणले त्यससम्बन्धी जानकारी लिनलाई सहभागी गराइएको उहाँको भनाइ छ । खरिदका लागि सम्झौता गर्ने, सम्झौता खारेज गर्ने सबै अधिकार पूर्णरूपमा महाप्रबन्धकको भएकाले पनि आफूसँग यी कुरा सम्बन्धित नरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सम्झौता गर्ने, सम्झौता खारेज गर्ने, आर्थिक अधिकारदेखि यो सम्पूर्ण विषयमा कानुनतः पनि महाप्रबन्धकको अधिकार भएको व्यहोरा म सम्मानित समितिलाई जानकारी गराउन चाहन्छु र १९ गते स्वयं महाप्रबन्धकले यो सम्झौता एकपक्षीय ढङ्गले खारेज गर्नुभएको कारणले पनि कानुनतः यो विषय त्यहीसँग सम्बन्धित हो भन्ने कुरा छ । यसमा परिस्थिति गम्भीर, अप्ठ्यारो, सामग्रीहरूको अभावमा भयावह हुन सक्ने स्थितिलाई मध्यनजर राखेर छिटो छरितो गर्ने विषयमा सहजीकरण गर्नको निम्ति मन्त्रिपरिषदमा प्रस्ताव लैजाने विषयमा मन्त्रीको हैसियतले मैले सहमति जनाएको थिएँ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू