अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२८ | Colorodo: 10:43

विश्वका १०० उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा नेपालका ४ जना सुचीकृत

बिआरटीनेपाल २०७७ पुष ३ गते ८:१९ मा प्रकाशित

विश्वका १०० उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा नेपालका ४ जना छनोट भएका छन् । नर्स तथा मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष २०२० का अवसरमा विश्व स्वास्थ्य संगठन, यूएनएफपीए, अन्तर्राष्ट्रिय नर्सिङ परिषद् तथा अन्तर्राष्ट्रिय मिडवाइफ संघले संयुक्त रुपमा नेपालका ४ जनासहित १०० जनालाई सूचीकृत गरेको हो ।सूचीमा नेपालका २ जना नर्स तथा २ जना मिडवाइफ १०० उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा पर्न सफल भएका हुन् ।

कोरोना महामारीको समयमा मिडवाइफ तथा नर्सहरु अग्रपंक्तिमा खटिएर बिरामीको सेवा गरेबापत सूचीमा सूचिकृत गरिएको वुमन इन ग्लोबल हेल्थ नामक संस्थाले आफ्नो वेबसाइटमा लेखेको छ । १०० जना उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा नेपालबाट मिडवाइफ प्रशंसा बुढा लामा र रुकुमणी त्रिपाठी, नर्स दुर्गा सापकोटा र सुष्मा योञ्जन रहेका छन् ।

प्रशंसा बुढा लामा र रुकमणी त्रिपाठी नेपालको पहिलो ब्याचका मिडवाइफ हुन् । लामा र त्रिपाठीले कोभिड–१९ को समयमा अनलाइन तथा टेलिफोनमार्फत यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क परामर्श दिँदै आइरहेका छन् । यसैगरी नर्स दुर्गा सापकोटा स्वास्थ्य अधिकारसम्बन्धी वकालत गर्दै आएकी छिन् । उनी कानुनकी विद्यार्थी पनि हुन् । सापकोटा यौन तथा प्रजनन, मातृ तथा नवजात शिशु र किशोर किशोरीको स्वास्थ्य क्षेत्रमा लागेको १० वर्ष भइसकेको छ ।

त्यस्तै उत्कृष्ट सूचीमा परेकी नर्स सुष्मा योञ्जनले नवजात शिशु, महिला तथा किशोरकिशोरीका समस्या तथा पोषणसम्बन्धी व्यवस्थापनको काम गर्दै आएकी छिन् । महिला स्वयंसेविकाहरुसँग मिलेर उनले पोषणसम्बन्धी परामर्श दिने गरेकी छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू