अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४९ | Colorodo: 17:04

“अध्यादेश फिर्ता नभए थप एक कदम अघि बढ्छौँ ”- प्रचण्ड

बिआरटीनेपाल २०७७ पुष ३ गते ८:१८ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश फिर्ता नभए थप कदम अघि बढाउने बताउनुभएको छ । पेरिसडाँडामा आफूपक्षका नेताहरूको भेलामा अध्यक्ष प्रचण्डले अध्यादेश फिर्ता गर्ने सहमति शीर्ष तहमा भएर स्थायी कमिटीबाट निर्णय र निर्देशन भइसक्दा समेत ओलीले आलटाल गरिरहनुले गलत सन्देश गइरहेको बताउनुभयो ।

ओलीले पार्टी विभाजन गर्ने योजनासहित एकपछि अर्को कदम चालिरहेको भन्दै उहाँले तत्काल यसलाई नियन्त्रण नगरिए ठूलो दुर्घटनामा फस्ने बताउनुभयो ।पेरिसडाँडा भेलामा कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताहरू सहभागी भएका थिए । अध्यादेश फिर्ता नभए विशेष अधिवेशनको माग फेरि ब्यूँतिने र संसद्बाटै निकास खोजिनुपर्ने प्रचण्ड–नेपाल निकट नेताहरूको भनाइ छ ।

गएको बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन लगाउने र संसद्को विशेष अधिवेशन बोलाउन राष्ट्रपति कार्यालयमा निवेदन दर्ता नगर्ने सहमति गरेको थियो । सहमतिको भोलिपल्ट नै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सहमति उल्लङ्घन गरेको प्रचण्ड–माधव नेपाल पक्षको आरोप छ । ओलीले अध्यादेश फिर्ता नहुँदै भोलिपल्ट अर्थात् बिहीबार (हिजो) संवैधानिक परिषद् बैठक बोलाउनु भएसँगै नेकपाभित्रको विवाद झनै पेचिलो बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू