अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१७ | Colorodo: 23:32

सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा मनाइने

बिआरटीनेपाल २०७७ पुष ३ गते ८:१३ मा प्रकाशित

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ आन्तरिक पर्यटन वर्ष हुने बताउनुभएको छ । पर्यटन मन्त्रालयमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले तत्काल विदेशी पर्यटक आउने सम्भावना नरहेकोले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा मनाउन तयारी गर्नु पर्ने बताउनुभएको हो ।

सरकारले आन्तरिक भ्रमण वर्ष भनेर घोषणा नगरे पनि सन् २०२१ हाम्रा लागि आन्तरिक पर्यटन वर्ष हुने भएकाले यसैलाई जोड दिनेगरी सरकारले योजना बनाइरहेको बताउनुभयो । कोरोनाको जोखिम रहेको अवस्थामा विदेशी पर्यटक आइहाल्ने अवस्था नभएकोले स्वास्थ्यका मापदण्ड पूरा गरेर पर्यटन बजारलाई बढाउन ब्यबसायीहरुलाई आग्रह गर्नुभयो ।

एक अर्को प्रसंगमा मन्त्री भट्टराईले अहिले चर्चामा रहेको दुइदिन सार्वजनिक बिदा दिने अवधारणा सही रहेको दाबी गर्नु भएको छ । यसभन्दा अघि लागु भइ असफल भएको चर्चा समय परिस्थिति अनुसार अहिले सही हुने भन्दै लागु गर्न सकिने बताउनुभयो । कर्मचारी लगायत सबैमा दुई दिनको बिदाले पुनर्ताजगी बनाउने र आन्तरिक पर्यटन समेतलाई टेवा दिनसक्ने भएकोले सरकारले अगाडि सारेको दुईदिन सार्वजनिक बिदा दिने निर्णय सही हुनसक्ने पनि मन्त्री भट्टराईले बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका पर्यटन बोर्डका प्रमुख कार्यकारी डा धनन्जय रेग्मी, होटल एसोसिएसन नेपालकी अध्यक्ष सृजना राणा र मन्त्रालयका अधिकृत रचना प्रधानले कोभिडले नेपाली पर्यटन र पर्यटन अर्थ व्यवस्थामा परेको प्रभावबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू