अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०४ | Colorodo: 07:19

सरकारले जारी गरेको अध्यादेश तत्काल फिर्ता लिन काँग्रेसको माग

बिआरटीनेपाल २०७७ पुष ३ गते ८:०८ मा प्रकाशित

नेपाली काँग्रेस संसदीय दलको कार्य समिति बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ । आज बसेको संसदीय दलको कार्यसमिति बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधानको मर्म र भावना विपरित रहेको भन्दै तत्काल फिर्ता गर्न माग गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

सरकारले ल्याएको अध्यादेश संविधानको भावना र मर्म विपरित रहेकाले यसलाइ तत्कालै लिनुपर्नेमा सबै सदस्य एक मत भएको उहाँले बताउनुभयो । संसद्को अधिवेशन बोलाउने बेला भइसक्दा पनि सरकारले अधिवेशन बोलाउन चासो नदेखाएको प्रमुख सचेतक खाँडको भनाइ छ । बैठकले संसद् अधिवेशन अविलम्ब बोलाउन समेत माग गरेको उहाँले बताउनुभयो ।

जनताका समस्याहरुलाई छलफल गर्नका लागि, जनतालाई भरोसा र विश्वास दिलाउनका लागि, सरकारको कमि कमजोरीलाई परिमार्जन गर्दै सरकारको क्रियाशिलताका निम्ति सदनको अधिवेशन अबिलम्ब बोलाउनुपर्नेमा बैठकले जोड दिएको खाँडले बताउनुभयो । बैठकले कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष पनि निकालेको छ ।

कोरोना नियन्त्रण तथा व्यवस्थापनमा सरकार गम्भीर नभएको काँग्रेसको ठहर छ । यसैगरी बैठकले उखु किसानले भुक्तानी नपाएर गरिरहेको आन्दोलनमा नेपाली समर्थन गर्ने निर्णय गर्दै उखु किसानको आन्दोलनलाई सरकारले गम्भीरता पूर्वक ध्यान दिनुपर्ने पनि बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू