सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धि अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ विरुद्ध रिट हालिएको हो ।
अधिवक्ता ओमप्रकाश अर्यालले बुधबार कार्यालय खुल्नेबित्तिकै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । प्रशासनमा रिट पेश गरिएको र दर्ताका लागि प्रक्रिया चलिरहेको अर्यालले जानकारी दिनुभएको छ । अर्यालले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधीश, मन्त्रिपरिषदको सचिवालयसहित संवैधानिक परिषदका सबै सदस्यलाई विपक्षी बनाएर रिट पेश गरिएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी ओलीले मंगलबार मन्त्रिपरिषदको बैठकलगत्तै पेश गरेको अध्यादेश मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको थियो । यद्यपि, उक्त अध्यादेशबारे मन्त्रिपरिषदमा छलफल नै नभएको मन्त्रीहरुले नै बताएकाले प्रधानमन्त्री ओलीप्रति नैतिक प्रश्न पनि उठेको छ ।