अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:११ | Colorodo: 12:26

सूर्य अवार्डको तेस्रो संस्करण अमेरिकामा

बिआरटीनेपाल २०७७ मंसिर २९ गते २१:३४ मा प्रकाशित

काठमाडौँमा तयारी, जापानमा नोमिनेशन

काठमाडौँ । सूर्य कर्पोरेसनले सन २०१८ देखि नेपाली सङ्गीत र फिल्मप्रति समर्पित हुँदै आयोजना सुरु गरिएको सूर्य ईन्टरनेशनल अवार्डको तेस्रो संस्करण हुने भएको छ । २०२० मै हुनुपर्ने तेस्रो संस्करण कोरोना भाइरस (कोभिड–१९) का कारण हुन सकेन । सोही संस्करण २०२१ मा हुने भएको छ ।

यसको बारेमा जानकारी दिँदै सूर्य कर्पोरेसनका अध्यक्ष वासुदेव लामिछानेले यस पटकको सूर्य अवार्ड केही रोचक र फरक हुने दाबी गरेका छन् । उनले जानकारी दिए अनुसार अवार्डको समपूर्ण तयारी काठमाडौँमा हुनेछ भने नोमिनेशन जापानको टोकियोमा हुनेछ । अवार्ड समारोहलाई भने थप भव्य तयारी सहित अमेरिकामा गरिने बताइएको छ ।

अन्तर्राष्ट्रिय अवार्ड समारोहमा नेपालका लागि सूर्य अवार्ड सबैभन्दा महँगो र ठुलो अवार्ड हो, सूर्य कर्पोरेसनले जनाएको छ । नेपालका लागि डायस्पोराको ठुलो अवार्ड सूर्य ईनटरनेशनल अवार्ड हो । पछिल्लो समय नेपाली फिल्मको राम्रो गन्तव्य बन्दै गरेको जापानको टोकियोमा ‘सूर्य इन्टरनेशनल अवार्ड’ २०१८ र २०१९ सम्पन्न भइसकेको छ । जसमा दर्जनौँ फिल्मकर्मी र अतिथिहरू सहभागी भएका थिए ।

यतिखेर आयोजक संस्था तेस्रो संस्करणको तयारीमा जुटेको छ । कर्पोरेसनका अध्यक्ष लामिछाने तेस्रो संस्करणको तयारी र फिल्ड भिजिटका लागि अमेरिकामा छन् । कर्पोरेसनले सामाजिक सञ्जालबाटै अवार्डको घोषणा गरेका हुन् ।

पहिलेको संकरणमा झैँ अवार्डको औपचारिक जानकारी र फर्म खुल्ला काठमाडौँमा गरिनेछ । उत्कृष्ट तीन मनोनयनमा परेका कलाकार तथा फिल्मकर्मीलाई जापानको टोकियोमा नोमिनेशन प्रमाणपत्र सार्वजनिक गरिनेछ । यस्तै त्यसको केही सातापछि अर्थात् नेपाली नयाँ वर्षको छेको पारी २०२१ मा अमेरिकामा यो अवार्ड समारोह भव्य रूपमा सम्पन्न गरिनेछ ।

यस अघि सूर्य कर्पोरेसनले जापानमा साकुरा नाइट नामक साङ्गीतिक कार्यक्रम तथा अन्य सांस्कृतिक कार्यक्रम पनि निरन्तर रूपमा आयोजना गर्दै आएको थियो । यस्तै पछिल्लो समय जापानमा नेपाली फिल्महरू प्रदर्शन गर्दै आएको कर्पोरेसनले नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा समेत हात हालेको छ ।

निर्माण हुन लागेको केही फिल्मको अन्तर्राष्ट्रिय अधिकारका लागि समेत कर्पोरेसनले सम्झौता गरिसकेको छ । अनमोल केसीको होम प्रोडक्शनमा निर्माण हुने फिल्म र अन्य केही फिल्महरूसँग कर्पोरेसनले अन्तर्राष्ट्रिय अधिकारका लागि सम्झौता गरिसकेको छ ।

नेपाली कला संस्कृतिको प्रवर्द्धन तथा नेपाली गीत सङ्गीत र फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुराउन पनि सूर्य कर्पोरेसनले सूर्य अवार्डलाई अगाडी सारेको अध्यक्ष लामिछानेले बताएका छन् । कोरोना महामारीको कारण ठप्प झैँ बनेको नेपाली फिल्म नगरीलाई नेपालसँगै अन्तर्राष्ट्रिय स्तरमा पनि प्रचार प्रसार र टेवा पुग्ने गरी अहिलेको अवस्थालाई अध्ययन गरी अवार्डको तेस्रो संस्करण अमेरिकामा तय गरिएको नेपालका लागि संयोजक समीर बलामीले बताएका छन् । सूर्य कर्पोरेसनले अवार्डसँगै नेपाली फिल्मको प्रवर्द्धन र पर्यटन प्रवर्द्धनलाई समेत टेवा पुग्ने गरी कार्यक्रमहरू गर्दै आइरहेको छ, सूर्य कर्पोरेसन तथा सूर्य अवार्डका ब्रान्ड एम्बेसडर नरेश भट्टराईले भने ।

पछिल्लो पटक सम्पन्न भएको सूर्य अवार्डका लागि जापानमा नीर शाह , मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, भुवन केसी, अनमोल केसी, साम्राज्ञी राज्यलक्ष्मी शाह, पूजा शर्मा, पल शाह, वर्षा राउत, आँचल शर्मा, श्वेता खड्का, राजेश पायल राई, दीपा श्री निरौला, जितु नेपाल, सन्दीप क्षेत्री लगायत पाँच दर्जन बढी कलाकारहरूको उपस्थिति रहेको थियो । यस वर्ष भने जापानमा हुने नोमिनेशन समारोहमा पाँच दर्जन कलाकारहरू सहभागी हुने आङ्कलन गरिएको छ । यस्तै अमेरिकामा हुने अवार्ड समारोहमा भने ४ दर्जन कलाकार तथा अतिथिहरू सहभागी गराउने तयारी रहेको छ ।

अवार्ड समारोह सङ्गीत तर्फ ६ विधा र फिल्मतर्फ ६ विधा राखिएको छ । जसमा फिल्मतर्फ उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, सह अभिनेता र सह अभिनेत्री समावेश छ । यस्तै सङ्गीत तर्फ पप, आधुनिक र लोक गरी ६ गायक गायिका समावेश छ । यस्तै अवार्ड समारोहमा दुई दशक लामो फिल्मी यात्रा तय गरेका एक फिल्मकर्मीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, एक दशक लामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान र एक दशक निरन्तर फिल्म पत्रकारिता गरेका पत्रकारलाई फिल्म पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । अवार्ड समारोहसँगै सूर्य कर्पोरेसनले क्रुज (पानीजहाज) पार्टी, मिनी गेट टु टुगेदर नाइट पार्टीलगायत आयोजना गर्दै आएको थियो । यसलाई यो पटक पनि निरन्तरता दिने कर्पोरेसनले जनाएको छ । अवार्ड समारोहले चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सहकार्य गर्दै आइरहेको छ ।

फायल फोटो

प्रतिक्रिया