अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३८ | Colorodo: 14:53

“सरकार अपराधी हो“ – कांग्रेस नेता केसी

बिआरटीनेपाल २०७७ मंसिर २९ गते ६:३३ मा प्रकाशित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले वर्तमान सरकारलाई ‘अपराधी सरकार’को संज्ञा दिनुभएको छ । उहाँले कोरोना संक्रमण नियन्त्रण गर्नुको सट्टा सरकारले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरी जनतालाई मार्न खोजेको आरोप लगाउनुभयो ।

देशव्यापी आन्दोलनअन्तर्गत् सोमबार कांग्रेस कास्कीले पोखरामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता केसीले कम्युनिस्टहरुले नेपाललाई भ्रष्टाचारी मुलुकको रुपमा चिनाएको आरोप पनि लगाउनुभयो । लोकतन्त्र र संविधानको जामा ओढेर सरकारले निरंकुश शासन चलाउन खोजेको उहाँको भनाइ थियो ।

कांग्रेसले राणा, पञ्चायत र राजा फालेको भन्दै उहाँले कम्युनिस्टविरुद्ध चौथो संघर्षका लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिनुभयो । नेता केसीले कम्युनिस्टहरु लोकतन्त्रको संरक्षक हुन नसक्ने भन्दै खबरदारी आवश्यक रहेको बताउनुभयो । सभामा कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाटले कम्युनिस्टको अधिनायकवादविरुद्ध एक भएर लड्नुपर्ने बेला आएको बताउनुभयो ।

आयोजित सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री यज्ञबहादुर थापाले कम्युनिस्ट सरकार भ्रष्टाचारमा लिप्त हुँदा नेपाली जनताले दुःख पाएको जिकिर गर्नुभयो । सभामा कास्की कांग्रेसका सभापति कृष्ण केसी, तरुण दल कास्की अध्यक्ष मनोज गुरुङ, कांग्रेस नेता खेमराज पौडेल, सुदीपमोहन भट्टराई, लक्ष्मी पाण्डेलगायतले सरकारका गतिविधिविरुद्ध बोल्नुभएको थियो ।

सभाअघि, पोखराको चिप्लेढुंगाबाट सुरु भएको कांग्रेसको र्याली पोखरा बजार परिक्रमा गरी पृथ्वीचोकमा आई विरोधसभामा परिणत भएको थियो । प्रदर्शनका सहभागीहरुले वर्तमान सरकारको काम–कारबाहीप्रति टिप्पणी गर्दै राष्ट्रपति, प्रधानमन्त्रीविरुद्धसमेत चर्को नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू