अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१२ | Colorodo: 21:27

स्वास्थ्य मन्त्रालयको सूचीमा कोरोनाबाट मृत्यु हुने ५१३ जना गायब

बिआरटीनेपाल २०७७ मंसिर २८ गते ७:०६ मा प्रकाशित

सरकारले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका सबै नागरिकको तथ्यांक व्यवस्थित रूपमा नराखेको पुष्टि भएको छ ।कोरोनाबाट मृत्यु हुनेको यकिन तथ्यांक पत्ता लगाउन सरकारले नै गठन गरेको समितिले २ कात्तिकसम्म पाँच सय १३ जनाको नाम स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छुटेको पुष्टि गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको तथ्यांक नमिलेपछि सरकारले कोरोनाबाट मृत्यु हुनेको यकिन तथ्यांक पत्ता लगाउन २ कात्तिकमा समिति नै गठन गरेको थियो ।स्वास्थ्य मन्त्रालयकी सहसचिव शैलजा रेग्मीको नेतृत्वमा कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का प्रतिनिधि डा. अरुण न्यौपाने र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे सदस्य रहेको समितिले मन्त्रालयको तथ्यांकमा मृतक पाँच सय १३ जना छुटेको प्रतिवेदन तयार पारेको हो ।

समितिले मन्त्रालयमा बुझाए पनि प्रतिवेदन सार्वजनिक भने गरिएको छैन । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २ कात्तिकसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सात सय ३९ थियो । तर, त्यसमा पाँच सय १३ जना छुटेको समितिको प्रतिवेदनमा छ ।त्यति नै वेला स्वास्थ्य मन्त्रालयको तथ्यांकभन्दा सेनाले शव व्यवस्थापन गरेका मृतकको संख्या चार सय बढी थियो । मन्त्रालय र सेनाको फरक–फरक तथ्यांकपछि अध्ययनका लागि समिति बनाइएको थियो ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले १७ कात्तिकसम्म कोरोना संक्रमणबाट मृत्यु भएका एक हजार चार सयको शव व्यवस्थापन सेनाले गरेको बताएका थिए ।उक्त दिन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नौ सय ८४ जनाको मृत्यु कोरोनाबाट भएको जानकारी दिएका थिए । त्यस दिन पनि मन्त्रालयभन्दा सेनाको तथ्यांकमा मृतकको संख्या चार सय १६ बढी थियो ।

स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको संख्या जोड्नेभन्दा पनि उपचारको पाटोमा बढी ध्यान केन्द्रित गरेकाले सेना र स्वास्थ्य मन्त्रालयको तथ्यांक फरक पर्न गएको अधिकारीले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिडले मृत्यु नभएको बताएका कतिपय शव पनि सेनाले नियन्त्रणमा लिएर व्यवस्थापन गरेको प्रतिवेदनले देखाएको छ ।

समितिका एक सदस्यले सेनाले शव व्यवस्थापन गर्दा मृत्यु समय, कोभिड रिपोर्ट र वडा कार्यालयको सिफारिसका आधारमा गरेको देखिएको र यसले तथ्यांक तलमाथि देखिएको बताएका छन् ।

‘सेनाले आइसोलेसन र क्वारेन्टिनमा झुन्डिएका, बाटोमा ल्याउँदा–ल्याउँदै मृत्यु भएकाको कोभिड प्रमाणका आधारमा तथ्यांक राखेको छ,’ ती अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भनेका छन् , ‘स्वास्थ्य मन्त्रालयले बाटोमा, होम आइसोलेसनमा र क्वारेन्टिनमा मृत्यु भएकाको संख्या छिटफुटबाहेक समावेश गरेको छैन, जसले २ कात्तिकअघिको तथ्यांकमा पाँच सय बढी फरक पर्न गएको देखियो ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू