अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४० | Colorodo: 08:55

साथी

गोपी मैनाली २०७७ मंसिर २७ गते २०:४५ मा प्रकाशित

(निबन्ध)
राम थापा रिसाउँथ्यो, मैले नखाए पनि रिसाउँथ्यो, नखाने कुरा खाए कि भनेर पनि रिसाउँथ्यो । नखाएको थाहा पायो भने ठुलै शब्दमा मारी झपार्थ्यो । शरीरको ख्याल नगरेकोमा पनि रिसाउँथ्यो । मलाई त कसैले आँखा जुधाएर हेरे पनि जाइलागिहाल्थ्यो । लाग्थ्यो उ सहयोगका लागि जन्मेको थियो । यति बढी माया र सहयोग गर्ने अधिकार चाहिँ उसले कहाँबाट पायो कुन्नि ।

पहिलो जनआन्दोलन लगत्तैपछि पहिलाकै धङधङीमा काठमाडौँबाट सिन्धुपाल्चोक गएर कुनै नमिल्ने काम अर्हाउने क्रममा एक व्यापारी महासयले मलाई के गाली गरेथे साथी राम थापा महाशयप्रति आक्रामक शैलीमा जाइ लागिहाल्यो । त्यसो नगर्न मैले छेके, अनुरोध गरे, मलाई नै लछार्दै बम्कियो ‘मेरो अगिल्तिर मेरो साथीलाई अपशब्द प्रयोग गर्ने ? म सहन सक्दिन ।’ प्रहरी निरीक्षक रमेश र वकिल प्रकाश पनि थापा सँगै बम्किन थाले । पछि सिडिओ नै आएर महाशयलाई मसँग माफी माग्न लगाएपछि मामिला सामसुम भयो ।

मलाई आँखा जुधाएर हेर्नु पनि रामका लागि सह्य थिएन । मलाई मन पर्ने कुरा उसलाई मन पर्थ्यो । मेरो स्वादमा उसको रुचि थियो । अलि कडा मिजासको तर साथी भनेपछि औधी गर्ने । उ आउँदा पनि डर लाग्थ्यो, नआए पनि मेरो आँखा अव्यक्त भावमा उसलाई खोज्न उसको अफिससम्म तेर्सिन्थे । लाग्थ्यो मृत्यु नै मलाई लिन आए पनि लघारेर ईर्खु भन्ज्याङ तिर पु¥याएर खँगार्थ्यो ।

अहिले राम थापा छैन । ईश्वरले पनि राम्रा मानिसलाई धेरै रहन दिँदो रहेनछ । जीवनभर सङ्घर्ष र दुखमा बितायो, साथी र परिवारको लागि बितायो । उसले लन्डनबाट ल्याइदिएको हाफ सट छ, धेरै लगाउँदा पनि फाट्ला भन्ने चिन्ताले भित्तामा झुन्ड्याएर राखेको छु । त्यो हलुका धर्के हाफ सटमा राम थापाको भावना नाचेको छ, उसको उदात्त र गम्भीर अनुहारको बिम्ब छ । धन्य सट तँ छस् र मेरो राम थापा मेरै कोठामा मलाई नियाली रहेको छ ।

पद्योदय हाइस्कूलमा वटु मात्र साथी थिएन । सबै साथी आआफ्नै स्वभाव र भावभङ्गीमा मीठा थिए । पढ्दा, प्रतिस्पर्धा गर्दा, खेल्दा, आपसमा झगडा गर्दा पनि निश्छल सौन्दर्य छचल्किन्थ्यो । तर बटुलाई मैले कहिले दुखी देखिन, सधैँ हाँसिरहन्छ । दुख त उसलाई पनि पर्दो हो, सधैँ प्रसन्न मुद्रामा, चेहराका भाव पनि अज्ञान निःस्वार्थमा । सधैँ प्रसन्न छ, नहाँसी बोल्दैन । बोली निस्स्वार्थ, हाँसोमा उन्मुक्तता छ । अरूलाई मन दुखाउने काम उबाट कहिल्यै भएन । उसको हाँसोले सधैँ अरूलाई खुसी देख्ने जिजीविषा पोखेको छ । रिस त उसलाई पनि गर्दा हुन्, सधैँ हाँसेकोमा पनि रिस गर्दा हुन्, तर अरूको रिस र इष्र्यामा वटु निरपेक्ष छ । कहिले त भाउजू पनि दिक्क मान्नु होला आफैमा सिरियस नभएकोमा । न रिस छ न अरूको मतलब, फगत खुसी, सहयोग र अफिसको काम । वटु जस्तै साथीले नै संसार खुसी राखेका छन् ।

अन्तर्राष्ट्रिय कर डिप्लोमाका लागि नब्बे दिनको बसाइका लागि टोकियोको हाचिओजी पुगेँ । भिडभाड र वैयक्तिक कर्ममा रमाउने जापानी समाजमा म कसरी रमाउने ? दैनिकी व्यवस्थापन कसरी गर्ने भन्ने कौतूहल र उकुसमुकुस थियो । उन्नाइस मुलुकका साथी, न चिनजान, न भाषा संस्कृतिको सामिप्यता । तर एउटा अजङ्गको, मोटोघाटो र हृष्टपुष्ट साथी बायरा दाशछेरेङले के गरेन १ बिचराले अङ्ग्रेजी बोल्न नजानेर के भो, उसको चेहरा, आँखा, शरीर सबैले सहयोगको भाषा मात्र बोलिरहन्थ्यो । यो अर्को राम थापा मङ्गोलियाको उलानबटोरबाट मेरै सहयोगका लागि ईश्वरले पठाइ दिएका । तर एउटा कुरामा बाध्य पार्थ्यो, उसले मन पराएको सुमो खेल मैले हेर्नै पर्ने, आशा शिरो (सुमो टपर) स्क्रिनमा देखेपछि भने खुसीले पागल हुन्थ्यो । आशा सिरोको प्रशंसा गर्नैपर्ने । न सुमो बुझें, न आशा सिरोलाई चिनें । टोकियो बसिञ्जेल मलाई कुनै दुखमा पर्न दिएन । त्यो भीमकाय अजङ्गको मानिस म छुट्टिने बेलामा कति नमिठो गरी रोयो ? म पनि भक्कानिएँ । रुवाइ पनि कति निस्स्वार्थ ? एकअर्कामा कति निस्स्वार्थ मित्रता । उसका आँखाबाट खसेका सँग्ला आँसुले निस्स्वार्थ मित्रतालाई पोखिरहेको थियो । उ उलानबटोरतिर, म काठमाडौँमा, नमरिकन एक अर्काको मनभित्रको बिम्ब मेटिने छैन ।

साथी बनाइँदैन, स्वतः बन्छ । साथी हुनेहरू त्यत्तिकै आपस्तमा बाधिन्छन्, त्यो स्वार्थको सीमाभन्दा कता हो कता माथि हुन्छ । साथीमा तहसोपान, बारबन्देज, स्तर र ओहोदा हँुदैन, केवल साथित्वपूर्ण मन हुन्छ, संवेग साटने हार्दिकता हुन्छ । मस्तिष्कले साथी र साथित्व खोज्दैन, अर्थ अनि परिभाषा पनि भेटाउँदैन । हार्दिकताले साथीत्वको जरुवा फुटाउँछ । त्यसैले साथी पाउनु, साथी बन्नु अनुपम आनन्द पाउनु हो, अलौकिक शक्ति भेट्टाउनु हो ।

दुखका सुदामा सुखका कृष्णलाई भेटेर कति खुसी भएथे १ साथित्व फक्रन संरचना, सोपान र स्तरले कत्ति पनि छेकेन । मृत्यु सैयामा छटपटाएका महाकवि लक्ष्मीप्रसाद देवकोटा साथी हरि श्रेष्ठलाई सम्झिन पुगे । शायद साथीको सम्झना र आँखा अघिको आकृतिले पनि मृत्युले लुट्नै लागेका देवकोटा केही क्षण भए पनि मृत्यु जित्ने साहसमा पुगेथे । साथी स्वर्गीय हुन्छ, प्रत्येक साथी अलौकिक हुन्छ । साथीले के चाहिँ गर्दैन ?

टालाटुली, धुलिमाटी, डण्डिवियो सँगै हुर्किएको साथी जीवनको अन्तिम क्षणसम्म ताजै रहन्छ । बाल्यावस्था निश्छल र प्राकृतिक भएकाले साथित्वको वास्तविक अर्थ यसैले दिन्छ । पेसा वृत्ति, सहर बजार, व्यस्तता र स्वार्थले साथित्वलाई साँघु¥याउदैन । भौतिकवादी उपयोगिता स्वार्थले पछ्यायो भने साथित्व सखाप हुन्छ । मित्रता विच्छेद हुन्छ ।

क्यालगेरी बसोबास गर्ने अरुणले म सचिव भएपछिको मेरो काममा खुसीले गद्गदिदै स्टाटस लेखेछ–‘दुखले जिम्मेवारीमा पुगिस्, अव खुब गर् है गोपी, धेरै गर् ।’ सानोमा कविताको विषयमा सानो विवादमा रिसाएर तीन महिना बोलचाल नै बन्द भएका हामी बालसखा सपनामा एकअर्कासंग माफमागेपछि बालहठ त्यागेर एकसाथ एकैचोटि बोल्न पुगेथ्यौं । कसले पहिला माफी माग्यौं थाहै भएन । यो नियोजित थिएन, अवचेत मनले डो¥याएर नियतिमा पु¥यायो । म मेरै वृत्तिमा, उ उसकै वृत्तिमा । तर सपाट मन एक अर्कालाई कसरी खोजिरहेको छ ?

हामी सचिव साथीहरू सिंहदरबारमा एकसाथ रहेर निस्स्वार्थ चिया खान पनि सक्दैनौ । ओहोदा र स्वार्थसँगै साथित्व विचेत र विक्षिप्त छ । तैपनि साथी भनिरहेका छौ र औपचारिकतामा फिस्स हाँसिदिन्छौ । ओहोदाबाट सडकमा खँगारिएपछि शायद हामीमध्ये धेरै झल्यास्स हौंला । त्यति वेला बत्ती बालेर खोजे पनि साथित्व भेटिने छैन ।

नाम र साथीत्वसंग कुनै सम्बन्ध हुँदैन । वटु प्यारो नाम । राम भगवानको नाम र मेरो कान्छो भाइको नाम । यी दुवै नाम साथीत्वका कारण झनै प्यारा भए । चार–पाँचजना साथी हरि छन्, वास्तवमा हरिनैजस्ता हार्दिक छन् । यो आकस्मिकता मात्र हो । नाम र स्वभाव मिल्ने भए छानी छानी त्यस्तै नाम राखिन्थे होला ।

साथीको साथ कठिन परिस्थितिमा झनै देखिन्छ । कठिन परिस्थितिमा नै साथीको पहिचान हुन्छ । वाल्टर विन्चेलले भनेथेँ–वास्तविक साथी संसारले छाडिसक्दा पनि साथै रहन्छ । युधिष्ठिरको सच्चा साथी कुकुर थियो । सबै मरिसक्दा पनि उसले पछ्याइरहेथ्यो । भनिन्छ उ युधिष्ठिरसँगै स्वर्ग पुग्यो रे । असल साथी तारा जस्तै हुन्छ, जो सधैँ देखिँदैन, जब कठिन परिस्थिति आउँछ, सहयोगको कर्ममा देखिन्छ, ताराहरू अँधेरोमा टल्किए जस्तै, अनुरोध पनि चाहिँदैन, आग्रह पनि भेटिँदैन ।

साथीत्व उदार हुन्छ, आत्मिक हुन्छ । सानो स्वार्थ र फाइदाका लागि हँुदैन । साथका लागि हुन्छ । फाइदा बजारी बस्तु हो, साथीत्व आत्मिक तत्त्व हो । साथीको नाममा स्वार्थ र तुष्टिको खेती अपराध हो । भौतिक उपयोगिताको समाजमा स्वार्थ र सट्टेवाजीमा साथी खोज्ने गरिन्छ र साथित्व नपाएपछि पात्रहरू चिथोराचिथोर गर्न पुग्छन् । धनी व्यक्ति, शक्तिको व्यक्ति, रवाफिलो व्यक्ति र पदको व्यक्तिलाई सङ्गत गरेर साथी भन्नेहरू साथीको महत्तालाई नै बदनाम गर्न पुग्छन् । काम लाग्ने व्यक्तिको छनौट पछिको सङ्गतले साथित्वको अपमान गर्छ । एक जना मित्रले दशौंबर्ष मन खोलेर कुरै गरेनन्, जब धेरै आपत् प¥यो, सहयोगको आग्रह गरे । सहयोगका लागि धन्यवाद पनि दिए, तर साथीत्वले त्यसलाई कर्तव्य मात्र सम्झियो ।

साथित्व एकअर्कामा रमाउँछ, एक अर्काबाट आशा गर्दैन, एक अर्कालाई दिन चाहन्छ । पर्दा ज्यानै दिन्छ तर वदलामा केही लिँदैन, फगत आत्मसन्तुष्टिका लागि साथीहरू आत्मैबाट तानिएका हुन्छन् । धेरै व्यक्तिहरू साथीको नाममा उपयोगिता खोज्छन्, कतिपय नाममा आनन्द खोज्छन्, त्यो साथित्व कदापि होइन । थोरै मात्र आपसिकतामा रमाउँछन्, एक अर्कालाई साथ र सम्मान गर्छन् अनि आत्मिक सम्बन्धमा उन्मुक्त हुन्छन् । भौतिक उपयोगिताले अलमल्याएको समाजमा आत्मिक सम्बन्धको साथी कहाँ पाउने ? तर भौतिक उपयोगवादलाई सही ठाउँमा ल्याउन पनि थोरै भए पनि आत्मिक साथी भने चाहिन्छ ।

साथी बनाउने एउटा हुटहुटी पनि हुदोरेछ । हामी सानो छँदा पेनपल (पत्र साथी) बनाउने होडमा हुन्थ्यौँ । नचिनीकनै एकअर्कामा भावना भूति शेयर गर्ने हुटहुटीले कतिले साथी बनाए, कति त अफै गुमे । अहिले सामाजिक सञ्जाल र सर्च इञ्जिनले त्यो हुटहुटीलाई सघाएको छ, अर्कै स्वरूप र गतिमा । तर वास्तविक साथी इन्जिन र संरचनाले खोज्दैन, भावना र मनले मात्र खोज्छ । साथी बन्न, साथी बनाउन र साथीका विषयमा बताउन पनि गा¥हो छ । यो त आफै हुने कुरा हो । साथी बुझेपछि संसार बुझिन्छ, जीवन र जगत बुझिन्छ । साथी त बृहद पाठशाला हो । हजार पुस्तकको ज्ञान दिन एक साथी काफी छ ।

साथीत्व उमेर, बर्ण, लिङ्ग, स्तर, सम्पत्ति, शारीरिक अवस्था र भूगोलभन्दा बेगल कुरा हो । मेरा खुवै मिल्ने साथी युगकवि सिद्धिचरण श्रेष्ठ थिए, उमेरमा हामी नाति हजुरबुबाका पुस्तामा थियौँ । हाम्रो सौहद्र्रतामा साहित्य हाँस्थ्यो । कुनै बखतका खुवै मिल्ने साथी साहित्यकार मञ्जुल पनि थिए, दाजुभाइ जस्ता हामी कति रमाउँथ्यौ । मञ्जुल दाइ गाला मसुरेर म्वाइ खान्थे । उनको छेकुडोल्मा दाहो¥याएर पढेँ । अहिले त्यति आउजाउ छैन । पारिजात दिदी दुखका सिर्जना सुनाउँथिन, प्रगति र क्रान्तिका ऊर्जाले तताउँथिन, हामी आमा छोरा जस्ता थियौँ ।

त्यसैले साथीमा कुनै आग्रह हुनुहुन्न । साथी वृद्ध हुनुपर्छ, वयस्क हुनुपर्छ, साथी बालक हुनुपर्छ, साथ समवयी पनि हुनु पर्छ, साथीत्वले लिङ्गीय परिवेश नाघ्नु पर्छ । साथको विविधताले साथीको पूर्णत्व दिन्छ । वरिष्ठ साथीले परिपक्वता दिन्छन्, बालकले निश्छलता, सादगी र समवयीले ऊर्जा । विपरीत लिङ्गको साथीत्वले एकअर्को महत्ता र स्वत्व बुझाउँछ, मन र मर्यादाका सीमा भने नाघिनु हुँदैन ।

मेरो अनुभूतिमा साथीले पूर्णत्व यसरी नै दियो । एउटा असल साथी हजार सम्बन्धीभन्दा ओजिलो हुन्छ । स्वरूप, बान्की र सम्बन्धले साथित्व बनाउँदैन । सम्बन्धी साथी हुँदैन भन्ने होइन, सम्बन्धीहरू साथीत्वमा कम हुन्छन् चाहिँ सत्य हो । फराकिलो साथित्व घरपरिवार र नाताभन्दा अलि पर देखिँदै आएको छ । कुन्नि किन यस्तो हुन्छ ?

एक जना मेरै ब्याचका मित्रलाई उनका सुपरिवेक्षक सिडिओले दुख दिँदा मानवीय सहयोग गरेको थिएँ, कत्र्तव्यको सहयोग गरेको थिएँ, आत्मिक आदेशमा सघाएको थिएँ । उनले गगल्चिदै मलाई अँगाल्दै भनेथे–‘जन्म मात्र मेरा पिताले दिए, कर्मको पिता तिमी भयौ । म यो ऋण यस जीवनमा कसरी तिरौँ ?’ मेरो कर्तव्य प्रतिफलको लगानी थिएन ।

अर्का मित्रले एक प्रसङ्गमा भने ‘यति सहयोग त दाजुभाइले पनि गर्दैनन्, धन्य साथी ।’ हो सच्चा साथीले आमाबुवा, दाजुभाइ, दिदीबहिनी, पतिपत्नीले गर्ने भूमिका एक्लैले निर्वाह गर्दछ । त्यसैले साथी महान् हुन्छ, असल साथी पाउने साथी झनै भाग्यमानी र महान् हो । साथीको साथले असम्भव पनि सम्भव तुल्याइदिएको कैयन दृष्टान्त छन् ।

हामी आठभाइ र बुहारीहरू वरिपरि बसेर रमाइलो साथ रेष्टुरामा रहँदा हाम्रा चिनजानका मानिसहरू कुरा गर्दै रहेछन्, ‘परिवार भएर पनि साथीजस्ता पो छन् यिनीहरू । एकको कुरा गर्दा सबै जाइ लाग्छन्’ । हो हामी परिवारमा पनि साथित्व राख्छौ र रमाउँछौ । परत्रले कसरी हेर्छ कुन्नि ?

साथी नभएका मानिसहरू निरस र खोक्रा हुन्छन् । कोही निरस, क्रूर र अमानवीय छ भने यसको अर्थ स्वाभाविक छ कि उससँग असल साथी छैन । प्रयोजन र प्रायोजनमा जीवन भोग्दै आएकाहरू त्यसैले जलिरहेका हुन्छन्, मनभरि खुम्चिएका र मरीच जसरी चाउरिएका हुन्छन् । फूल झैँ फक्रक्क फक्रिन साथीको साथ चाहिन्छ । फूल झैँ फक्रन निस्स्वार्थ मन चाहिन्छ । त्यसैले साथी प्रकृतिको अर्को नाम ।

पतिपत्नी एक अर्काका जीवन साथी हुन् । सामाजिक संस्कार र सम्बन्धको सीमाले एक अर्कालाई जीवन साथी बनाएको छ । साथित्व सही छ, भनिएजस्तै जीवन साथी हो, जीवन खुसी पनि छ । एकत्वको अनुभूति पनि छ, दुखमा सहानुभूति, पहिचानमा एकत्व, पारस्परिक समभाव छ, त्यो जीवनको साथी हो । अन्यथा पतिपत्नी आदर्श अनुष्ठान नभै औपचारिक सामाजिक सम्झौता हो । नेपाली समाजमा मान पतिका भागमा र माया पत्नीको भागमा, पहिचान पतिको भागमा र पसिना पत्नीको भागमा पर्दै आएको छ । यही कारणले पतिपत्नी जीवनसाथी नबनेका कैयन उदाहरण छन् । सांस्कृतिक लाभको मनोविज्ञान पुरुषतिर ढल्किएकाले पत्नीको समर्पणमा जीवन साथित्व जवर्दस्त छ । यसलाई जीवन साथी भन्न कति सकिएला ?

किशोरावस्था पार गर्दै गएपछि छोराछोरी पनि साथीको श्रेणीमा उक्लिन्छन् । आमाबुबा जसरी छोराछोरीमा निस्स्वार्थ सहयोग गर्छन्, छोराछोरी पनि व्यक्त अव्यक्त तहदेखि नै आमाबुवालाई सहयोग गर्छन् । साथीत्वका आयाममा सतत रहन्छन् । तर सबै छोराछोरी साथी बन्न सक्दैनन्, बन्दैन र आमाबुवा निराश भग्नासामा छटपटिन्छन् । असल सन्तान असल साथी हो, असल सन्तान जन्माउने आमाबुवा परिवारलाई स्वर्ग बनाउँछन् । असल सन्तान वास्तवमा देवदूत हुन् । त्यसपछि परिवार अलौकिक अनुष्ठान बन्छ ।

मानिस मात्र होइन, अरू प्रजाति र वनस्पति पनि साथी हुन् । सजाति (मानिस) लाई मात्र साथी सम्झने मानवकेन्द्रीत दृष्टिकोण पनि पक्षपाती छ । घरपालुवा जनावरले निस्स्वार्थ माया दिएर मानिसलाई कति ठुला दुर्घटनाबाट जोगाएका छन् । कहिले नदेखेका जनावर र प्राणीले मानिसको उद्धार गरेको छ । हामीले दशैका लागि पालेको घोर्ले खसी र ठुलो बोको दशैनजिकमा मृत्यु पनि नजिकिएको आभाषमा मुमुमु गर्दै हामीसँग खेलेको बिम्बले मलाई अहिले पनि सताइ रहन्छ ।

मेरो निवासको सानो रुद्राक्षको बिरुवा प्रत्येक बिहानी मसँग माया साट्दै खुसीले मौलाउँदै मलाई उछिनी सक्यो, लगातार क्षितिजतिर कुदिरहेको छ । शायद केही वर्षपछि शीतल छहारी देला । रोशीमा तित्री र आँपका रुखले फल र छहारीले, सौन्दर्य र हरियालीले माया दिएथ्यो । गोठालो जाँदा घोसे, पिपले र थामपरीमा केत्तुकीको पानीले सघायो, गाउवेसी गर्दा मुडुली भञ्ज्याङको चौतारोले मन्द सिरेटो दिएर सघायो । रोशीखोला, कान्पुर र धारे, घासे पाखो पनि अपनत्वको माया दिएर साथी बन्यो । फरक यत्ति कि सजातीय साथी चलायमान छ, अरू प्राणी वनस्पति र चराचरले साथित्व त दिन्छन् तर त्यो स्थिर छ । सजातीयहरु सहयोग र स्वार्थ दुवैमा अस्थिर छन् । कति निस्स्वार्थ छन् बटबृक्ष, कति स्वार्थपरस्त छ मानव समाज । सबै साथीहरू राम थापा र वटुजस्ता प्राकृतिक भए पो १

स्वार्थ परस्तताबाट प्रकृतितिर जाने भावना नै साथीत्व हो । सहयोग र समर्पणमा सतत रहने भावनाले नै समाजले साथी पाउँछ, साथीले संसार बनाउँछ, मानवता बचाउँछ र भविष्यको सभ्यता निर्माण गर्छ । मेरो कामना छ कृत्रिम बौद्धिकता र अरू आविष्कारले साथीलाई विस्थापित नगरोस् ।

(मैनाली निवास, क्षितिज मार्ग, शंखमूल)