अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३१ | Colorodo: 18:46

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताबारे छलफल गर्न लेखा समितिले मन्त्री ढकाललाई बोलाउने

बिआरटीनेपाल २०७७ मंसिर २६ गते ७:३० मा प्रकाशित

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेनामार्फत स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका विषयमा समितिले स्वास्थ्यमन्त्री ढकालसँग छलफल गर्ने भएको हो । त्यसका लागि आउँदो बैठकमा स्वास्थ्यमन्त्री ढकाललाई बोलाउने तयारी भइरहेको समितिका सचिव डाक्टर रोजनाथ पाण्डेले बताउनुभयो ।

समितिले यसअघिका बैठकमा पनि मन्त्रालयले खरिद प्रक्रिया पूरा नगरिकन ओम्नी समूहमार्फत स्वास्थ्य सामग्री खरिद गर्न लागेको भन्दै अध्ययन सुरु गरेको थियो । तर लामो समय बैठक नै नबस्दा यो विषयमा समितिले छलफल गर्न सकेको थिएन । अबको बैठकमा भने स्वास्थ्यमन्त्री ढकाललाई नै बोलाएर छलफल गर्ने तयारी समितिले गरेको हो ।

यस्तै समितिको बैठक लामो समय नबस्दा उजुरीको सङ्ख्या पनि बढेको छ । अहिलेसम्म एक दर्जन बढी उजुरी परेको पनि सचिव पाण्डेले बताउनुभयो । विशेष गरी सार्वजनिक खरिद ऐनलाई कार्यान्वयन गर्ने सिलसिलामा भएका अनियमिततालाई लिएर उजुरी परेको छ । सडक निर्माण, विद्युत् प्राधिकरणमार्फत हुने ठेक्कालगायतका विषयमा उजुरी परेको छ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सम्बन्धमा उपसमितिले अध्ययन गरेको विषयमा समेत आउँदो बैठकमा छलफल गर्ने तयारी गरिएको पनि पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू