अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०१ | Colorodo: 05:16

अमेरिकी निर्वाचनः सबै राज्यद्वारा मतपरिणाम प्रमाणित, ट्रम्पद्वारा सर्वोच्चमा निवेदन

बिआरटीनेपाल २०७७ मंसिर २५ गते ६:५० मा प्रकाशित

अमेरिकाका सबै ५० ओटा राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामलाई प्रमाणित गरेका छन् ।अमेरिकी राष्ट्रपति चयनका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजका सदस्यहरु पनि मतपरिणाम प्रमाणित गरेसँगै स्वतः मनोनयन भएका छन् । आगामी सोमबार अर्थात् डिसेम्बर १४ मा इलेक्टोरल कलेजले राष्ट्रपतिका उम्मेदवारलाई औपचारिकरुपमा निर्वाचित भएको घोषणा गर्नेछन् ।

पश्चिम भर्जिनिया राज्य बुधबार राष्ट्रपति पदको निर्वाचन परिणाम प्रमाणित गर्ने अन्तिम राज्य बनेको छ । यस राज्यबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँचओटा इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । राष्ट्रपति–निर्वाचत जो बाइडेनले ३०६ इलेक्टोरल मत प्राप्त गर्ने अनुमान गरिएको छ । जबकि, राष्ट्रपति ट्रम्पले २३२ इलेक्टोरल मतमात्र प्राप्त गर्नुहुनेछ ।राष्ट्रपति बन्नका लागि कुल ५३८ इलेक्टोरल मतमध्ये २७० मत आवश्यक पर्दछ ।

राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको र राष्ट्रपति पदको नतिजामा शंका लाग्ने निराधार दाबी गरिरहेपनि राज्यहरुले चुनावी मतपरिणाम प्रमाणित गरी पठाएका छन् । निर्वाचन परिणामलाई चुनौती दिई गत नोभेम्बरको चुनावपछि राष्ट्रपति ट्रम्पका तर्फबाट दायर दर्जनौं मुद्दाहरु राज्य र स्थानीय तहबाट खारेज भएका थिए ।अमेरिकामा निर्वाचन परिणाम प्रमाणित गर्ने हरेक राज्यका आ–आफ्नै तरिका र प्रक्रिया छन् ।

इलेक्टोरल कलेज प्रक्रियाको अर्को प्रमुख कदम भनेको निर्वाचनको बैठक हो । यस वर्ष इलेक्टोरल कलेजको बैठक यही डिसेम्बर १४ मा बस्दैछ । यो बैठकले प्रदान गर्ने मतलाई अमेरिकी कंग्रेससमक्ष हस्तान्तरण गरिन्छ । आगामी जनवरी ६ मा बस्ने कंग्रेसको संयुक्त सत्रमा इलेक्टोरल मतगणना र प्रमाणीकरण गरिन्छ ।

यसैबीच, राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउँदै केही राज्यको मतपरिणाम बदर गर्न सर्वोच्च अदालतमा निवेदन दिनुभएको छ ।राष्ट्रपति–निर्वाचित जो बाइडेन विजयी हुनुभएका चारओटा राज्यको मतगणनामा समावेश गरिएका लाखौं मतपत्र खारेज गर्न राष्ट्रपति ट्रम्पले सर्वोच्चमा निवेदन दिनुभएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।

राष्ट्रपति ट्रम्पका तर्फबाट टेक्सास राज्यका महान्यायाधिवक्ता केन प्याक्सटनले दिएको निवेदनमा जर्जिया, मिचिगन, पेन्सिल्भेनिया र विस्कन्सिन राज्यका लाखौं मतपत्र बदर गर्न माग गरिएको छ ।सर्वोच्चमा दिइएको निवेदनमा राष्ट्रपति ट्रम्पले ‘हाम्रो मुलुक सन् १८६० को निर्वाचनयता सबैभन्दा गहिरोरुपमा विभाजित भएको छ’ भन्नुभएको छ ।

निवेदनमा भनिएको छ–‘विपरीत पक्षहरुबीच अति धेरै अविश्वास व्याप्त छ र केही राज्यका निर्वाचन अधिकारीहरुले आफूलाई राज्यका निर्वाचन कानुनमार्फत् प्राप्त अधिकारको प्रयोग गर्न असफल भएका छन् ।’टेक्सासका महान्यायाधिवक्ताले तर्क गरेझैं राष्ट्रपति ट्रम्पले चार राज्यले कोरोनाभाइरस महामारीलाई देखाएर चुनावलाई विश्वसनीय बनाउने सबै पक्षलाई बेवास्ता गर्दै आफूखुसी राज्यका कानुनको कार्यान्वयनलाई बेवास्ता वा निलम्बित गरेको बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले सन् २०२० को चुनावी परिणामलाई राज्यका संसदमार्फत् पुनः समीक्षा गर्न माग गर्नुभएको छ । उहाँले बाइडेन निर्वाचित भएका चार राज्यका इलेक्टोरल मत खारेज गरी नयाँ टोली पठाउनुपर्ने जिकिर गर्नुभएको छ । राष्ट्रपति ट्रम्पको नयाँ कदमको समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा रिपब्लिकन पार्टीभित्रै विवाद उत्पन्न भएको छ ।

केही रिपब्लिकन सदस्यहरुले राष्ट्रपति ट्रम्पका तर्फबाट टेक्सास राज्यका महान्यायाधिवक्ताले सर्वोच्चमा मुद्दा दायर गर्नु अमेरिकी लोकतन्त्रमाथिकै धब्बा रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू