अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 18:53

‘जूनका टुक्राहरू’ साहित्यका बिस्कुनमा खोज्दा

चन्द्र खड्का २०७७ मंसिर २३ गते ८:५१ मा प्रकाशित

साहित्यिक पृष्ठभूमि साहित्यका मूलतः चार विधा छन् । समयक्रममा साहित्यिक विधा उपविधाहरू नयाँ–नयाँ जन्मने नियमित भइरहेकै छन् । जन्मिएका मात्रै होइन कुनैव्यापक भौगोलिक क्षेत्र लिएर भाषागत रूपमा पनि सम्पन्न र सबल बन्दै गइरहेका छन् । कुनैकुनै विधा भने कहिले अति उत्कर्षमा जाने; कहिले हराएजस्तो हुने र पुनः मूल प्रवाहलाई नै धक्का दिने किसिमले फर्कने कार्य भएको अनुभव र इतिहास हामीसामु प्रस्टै छ । लोक परम्परामा हुर्किएको छन्द होस्वा पिङ्गल शास्त्रीय छन्द कुनै बेला निर्विकल्प प्रयोगमा थियो, नेपाली साहित्यमा । राजनीतिक परिवर्तन वा कतिपय अन्य पृष्ठभूमिमा सहजता र स्वच्छन्दता खोज्दै मुक्त छन्दको प्रवेश र विस्तार हुँदै नबुझिने लामा कविताका कठोर उदाहरणसमेत बन्न पुगेका छन् ।

मुक्तक, छैटौँ शताब्दीतिर सुरु भएको भनिएको विधा नेपाली साहित्यमा धेरैपछि मात्रै उर्वर रूपमा रचनाहरू उत्पादित हुन आइपुगेका छन् । हाल मुक्तक विधालाई संरक्षणखातिर धेरै प्रतिष्ठानहरू नै बनेका वा खोलिएका छन्। यसका साथै प्रकाशनका हिसाबले पनि अहिले यो विधा तुलनात्मक रूपमा सबल छ भन्न सकिने प्रशस्त आधारहरू छन् ।

टिकट काटेर हलमा बसी मुक्तक सुन्ने कार्यक्रमहरूसमेत परिवेश अनुकूलतामा आयोजना हुने गरेका छन्। सबै खालका रेडियो वा एफ.एम., पत्रपत्रिका वा अनलाइनका पोर्टलहरूमा समेत मुक्तकले विशेष स्थान पाउन थालेका छन् । मुक्तक रचना विशेष प्रकाशित गर्ने विभिन्न पत्रिकाहरूसमेत नियमित रूपमा पाठकसमक्ष आइपुग्नु भनेको अर्को सबल पक्ष हो भन्न सकिन्छ । यो, तथ्यले प्रमाणित गरेको वास्तविकता पनि हो । कुनै सेमिनार होस् वा साहित्यिक भेटघाट जुनसुकै सन्दर्भमा एउटा मुक्तक जाओस् है भन्दै साहित्यिक रसास्वादन गर्ने नयाँ शैलीको सुरुवात भइसकेको अनुभूत हुन्छ नेपाली समाजमा हिजोआज ।

व्यक्तिगत रचना प्रकाशनको पृष्ठभूमि
यहाँनेर शीर्षक नै दुई वटा बनाएर साहित्यिक र व्यक्तिगत पृष्ठभूमि निर्माण गर्नुको खास कारण छ । आफू विद्यार्थी छँदा पुस्तकाकार तीर्थराज अधिकारीका समयमा नेपालमा पत्रपत्रिका कम प्रकाशित हुन्थे । त्यसमा पनि साहित्यिक रचनालाई प्राथमिकता दिने खालका पत्रिका त पाउनै मुस्किल पर्थ्यो । त्यस्तो वेलामा प्रस्फुटित मनोभावनालाई लेख्न र टिक्न सक्ने कमै हुन्थे तर त्यसका अपवाद हुनुहुन्छ– मुक्तककार तीर्थ अधिकारी! जन्मस्थलभन्दा धेरै टाढा दुर्गम पहाडी जिल्ला दोलखासम्म पुगेर शिक्षकको जागिर भनेको पढाउने मात्र हो भन्ने तथ्यलाई गलत बनाउँदै, उहाँले अतिरिक्त क्रियाकलाका गतिविधिलाई सक्रिय तुल्याई जिल्लाकै दोस्रो साहित्यिक पत्रिका ‘झुल्का’(२०२६)को संस्थापक तथा प्रधान–सम्पादकको ऐतिहासिक कार्य बन्न पुगेको छ । उक्त पत्रिकामा आफ्ना विद्यार्थीहरूका रचनाका साथै सुझबुझ पूर्ण रूपमा स्थापित स्रष्टाहरूका लेखनीलाई समेत समावेश गराई पत्रिकाको स्तरीयताप्रतिको परिपक्व कार्य पनि हो । यो उहाँको व्यक्तिगत जीवनमा साहित्यिक कार्यको स्मरणीय सबल पाटो हो ।

‘जूनका टुक्राहरू’ टिप्ने अभिलाषा यसअघिका ‘झटारो’ र ‘बिरिमफुल’ पछिको तेस्रो मुक्तक सङ्ग्रह ‘जूनका टुक्राहरू’ कृति हो । यस सङ्ग्रहमा सङ्गृहीत पहिलो रचना नै शीर्ष–रचनाका रूपमा रहेको छ । यही गहन भावको रचनाले के–कस्ता रचनाहरू यसमा होलान् भन्ने अनुमानले झ्याप्पै पाठकलाई ‘एक्सन मुभीको कास्टिङ’झैँ तानेर अनुभूतिमा बाँध्नेछ । मनलाई एकाकार बनाएर रचनाका भावमा रमाउन पाठकलाई स्वच्छन्दता दिन्छ तर कृतिभित्रै घोरिन प्रेरित गरिरहन्छ । यस कृतिको शीर्ष रचना यस्तो रहेको छ:
कतै छलिएर अप्सरा नै यो धरतीमा पसे झैँ लाग्छ
तिनी नै सुटुक्क मेरो छेउमै आएर बसे झैँ लाग्छ
अँधेरी रातमा झिलमिल जूनकिरी चम्किएको देख्दा
पूर्णिमा पछिका जूनका टुक्रा यतै खसे झैँ लाग्छ ।

रचनाका पृष्ठहरू मात्रै हेर्ने हो भने नेपाली भाषामा १ सय ५५ पृष्ठमा दुई वटा रचनाका हिसाबले ३१० वटा मुक्तक समावेश छन्। सोही सङ्ख्यामा हु–बहु भावलाई सर्लक्क उतार्ने काम भएको छ अनुवादक भोजराज न्यौपानेबाट । संरचनामा आकारगत वैषम्यता दुई भाषाबिच देखिए तापनि भावगत समता हुनु नै यसको सबलता हो । साहित्य आफैँमा शब्दको थुप्रो होइन । मुक्तककार अधिकारीका कलमले कतिपय मुक्तकले जीवन बोलेको छन् भने कतिपयले दर्शन बोलेको छन् । हरेक मुक्तकले सजिलै विषयवस्तुलाई उठान गर्दै पाठकलाई अनुभूतिका चुचुरोमा आरोहण गराउँछन् तर ओर्लदैनन् बरु त्यहीँ झन्डा फर्फराउँछन् अनि पाठकले उसलाई सलाम गर्दछन्। सलामको अर्थ सम्मान लेखकप्रति सोझै होइन, रचनाको भावप्रति हो अनि त्यो भावलाई सरल र सरस शब्दमा गहन भावलाई व्यक्त गर्ने स्रष्टालाई मौलिकताको सुन्दर माला पहि¥याइदिन्छन्। भावक र स्रष्टाबिच रचनाका अन्तर्वस्तुले जोडिदिन्छ जसरी माला बन्दछ फूलहरूले, आकाश सजिन्छ जूनताराहरूले । तिनै ‘जूनका टुक्राहरू’ चार हरफ मुक्तकहरू प्रस्तुत पुस्तकमा ताराझैँ स्वयम् चम्कन्छन्।

‘जूनका टुक्राहरू’ आकाशका अनगन्ती ताराहरूको तारा मण्डल होइन बरु सुन्दर बगैँचाबाट टपटप टिपिएका सुन्दर फूलहरूको सुन्दर माला हो । जसमा कुनै कृत्रिमता भेटिँदैन वा भनौँ कुशल शिल्पीले बलियो धागोमा उनेको माला हो । यसमा दुबो र टल्कने जरीको पनि सिप थपिएको छ अङ्ग्रेजी भाषाका माध्यमले । उनिएको मालामा दुबोले सुन्दरता थपिदिए जस्तै बनेको छ, अनुवादका कारणले । जून तारा त धेरै टाढाको कुरा हो जो कल्पनामा रमाउनेहरूमा सीमित हुन्छ तर फूलबारी भनेको प्रकृतिको अनुपम नमुना हो जसलाई हरेक वर्गका मानिसले स्पर्श गर्न सक्छन्।

यो मौलिक र पृथक् प्रयोगको निरन्तरता पनि हो लेखकका अघिल्ला कृतिहरूझैँ । यसअघिका कृति सोही शैलीमा मन पराइएकै कारण सायद लेखकबाट धैर्य लिएर पाठकलाई पठनीय कृति दिने सत्प्रयास भएको छ । लेखकले जे लेख्ने हो लेखेपछि त्यो लेखकको मात्रै अधिकारभित्र सीमित रहँदैन । कृतिले पाठकलाई अर्थ्याउने अधिकार दिन्छ र साहित्यको भण्डार भर्छ । यो कृति बुझ्नेलाई श्रीखण्ड वा सुगन्धित चन्दन हो जसलाई घोटेर लेप बनाए पनि वा जलाए पनि बास्ना नै पाइन्छ ।

बिट मार्नुअघि
यो लेखन न त साहित्य विशेषज्ञद्वारा चिरफार गरिएको सौन्दर्य शास्त्रीय चस्माले देखेका कुरा हुन् न त वरिष्ठ वा परिपक्व व्यक्तिको अनुभवले खारिएका दृष्टिकोण नै हुन्। यहाँ पोखिएका शब्द गुच्छाहरू केबल एक पाठकका नितान्त निजी अनुभूति हुन् जो मुक्तक विधामा कलम चलाउन होइन कलापूर्ण ढङ्गले कलम समाउन सिक्दै गरेको एक साहित्य अनुरागी मात्रै हो । शब्द चातुर्य वा चाकरीका उपज पनि होइनन् अनि आलोचनाका काँडाले सुन्दर फूलरूपी शब्द गुच्छाका कुरूपता थप्ने आशयका शब्दाडम्बर पनि होइनन्।

बिट मार्दामार्दै
अन्त्यमा, मात्रै यति भन्छु, मुक्तककार तीर्थ अधिकारी भौतिक रूपमा कस्तो हुनुहुन्छ मैले देखेको वा भेटेको छैन तर जे जति रचनाहरू उहाँका अद्योपान्त पढेँ र बुझेँ । उहाँ एक कुशल शब्दशिल्पी हुनुहुन्छ । उहाँका रचनामा जीवन्त जीवन पाइन्छ । जीवन भोगाइका ऊहापोह मजाले भेटिन्छ । राजनीतिभित्रका विविध विकृत स्वरूपहरू अनि विकृतिप्रति सुधारका भावना छन् । ढोँगी र आडम्बरी भावनाका विरुद्ध सद्भावका सन्देश छन्। प्रकृतिको छाया छ, देशको माया छ । रचनाले वर्तमान समय बोलेका छन्, भविष्यप्रतिको आशावादी जीवनदृष्टि सन्देशात्मक रूपमा सम्प्रेषित छ । केही मायाका कुरा छन्। कतै घुसका कुरा कतैतुषका अनि सामाजिक कलुषित भाव समेटिएका छन् । यिनै र यस्तै कुराका हरेक मुक्तकले पाठकलाई केही न केही सकारात्मक भाव मनमा सञ्चरण गर्न सफल रचना छन् । सेवा निवृत्त जीवनको फुर्सदमा निरन्तर यी र यस्तै यस्तै बान्किला मुक्तकहरू लेखिरहनुहोस्, मुक्तकिलो अनेकौँ बधाई अनि सफलताको असीम शुभकामना छ ।

हाल: नयाँबानेश्वर, काठमाडौँ–३

प्रतिक्रिया