अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०४ | Colorodo: 21:19

तपाई हराएपछि

लाल चौलागाईं २०७७ मंसिर २२ गते १५:४६ मा प्रकाशित

कत्ती खोज्यौ तपाईँ हजुरलाई
गाउँघर, चौतारी, दोबाटो
अनि सहरका गल्लीहरूमा
तपाईँ हराएपछि

बनजङ्गलका बुटयानहरुमा
खोलाबगरका चट्यानहरुमा
पत्रपत्रिका, रेडियो, टेलिभिजन
अनि सामाजिक सञ्जालहरूमा
तपाईँ हराएपछि

तपाईँ हराएपछि
भनौँ हजुरले केही नभनी घर छाडेपछि
बाले त्यही पिरले सन्सार छाड्नु भयको हो
र छाडिँदै गएका हुन, सम्बन्धहरू
साथीभाइ, आफन्त र समाजबाट पनि,
मेरो प्राण तपाईँ हराएपछि,

तपाईँलाई थाहा छैन होला,
तपाईँ हराएपछि
ठुल्दाइ अंस लिएर छुट्टै बस्न थाल्नुभएको हो
बुढिआमाले दमको रोग पाल्न थाल्नुभएको हो ।
छोरीले पढाइ बिचमै छाड्न थालेकी हो
र म असहाय अनि एक्ली बन्न थालेकी हु ।
मेरो प्राण तपाईँ हराएपछि,

तपाईँ हराएपछि
खेतबारी बाझै पल्टिएको हो
खेतजोत गर्ने कोही नभएपछि
गाइगोठ सुनसान बनेको हो
घासपराल र स्याहार नपुगे पछि
मेरो हजुर तपाईँ हराएपछि

तपाई हराएपछि
पुसमाघको जाडो काट्न मुस्किल बनेको हो
न्यानो कपडा र बाक्लो ओड्नि नभएपछि
हरेक बर्षातमा छ्त चुहिने गरेको हो,
छ्तको मर्मत गर्ने कोही नभएपछि ।
मेरो प्राण तपाई हराएपछि

तपाई हराएपछि नै हो
त्यही घर बन्धकी राखेर
तातो मरभुमिमा, नुनतेलको जोहो गर्न
राहदानीका पानाहरूमा लालमोहर लगाएर
अरब हानिएकी हु, मेरो प्राण ।।

मेरो प्यारा
आज बर्सौँ भयो तपाईँ हराएको
अनि बर्सौँ भयो मैले यहाँ पसिना चुहाएको पनि

ताकी , बुढिआमाको ओखती किन्न सकु
ताकी , छोरीको अधुरो पढाइ पूरा गर्न सकु
छतको मर्मत ,न्यानो कपडा
र नुनतेलको जोहो गर्न सकु।
मेरो प्राण तपाई हराएपछि

आज एउटा बाचा गर्छु ,
मेरो प्राण हजुरलाई
धन कमाउन सकुला नसकुला यो अरबको
बन्धकी फुकाउन सकुला नसकुला त्यो घरको
तर एक दिन अवस्थ फिर्ने छु मेरो देश
र एक दिन अवस्थ फिर्ने छु मेरो घर
मेरो प्राण , मेरो प्राण
म हराउने छैन
तपाईँ हजुर हराए जस्तै
तपाईँ हजुर हराए जस्तै ।।

लाल चौलागाईं कोलोराडाे, अमेरिका

प्रतिक्रिया