अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१३ | Colorodo: 17:28

पतिको निधनपछि सिन्दूर–पोतेसहित घाटबाट फर्केर काजकिरिया

बिआरटीनेपाल २०७७ मंसिर २२ गते ६:४९ मा प्रकाशित

झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया गर्नुभएको छ । उहाका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो। १७ दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते भएका उनको त्यसपछि मिर्गौलामा समस्या थपिएको थियो।

बिएन्डसी र नोबेल हस्पिटलमा उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नभएको उनको शनिबार निधन भएपछि स्थानीय देउनिया घाटमा दाहसंस्कार गरिएको थियो। दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने प्रचलन छ तर रेनुकाले आफ्ना पतिबाट सौभाग्यको रूपमा पाएको सिन्दूर र पोते नफाल्ने बताउँदै सेतो लुगामा घर फर्कनुभयो ।

हाल निजी निवासमा पतिको किरिया गरिरहेकी उहाँको यो निर्णयलाई परिवार, छरछिमेकी र देख्नेसुन्नेले साहसिक निर्णय भन्दै समर्थन जनाएका छन्। ’यो मेरा पतिले सौभाग्यको रूपमा दिनुभएको हो’, पतिको निधनपछि पनि सिन्दूर र पोते लगाउनुको कारण बताउँदै नेपालले भन्नुभयो, ’उहाँले म मरेपछि तिमीले सिन्दूर नपुछ्नु र पोते नफुकाउनु भन्नुभएको थियो।’

रेनुकाका देवर तथा टेलिभिजन पत्रकार टीकाराम नेतीले दाजुको इच्छाबमोजिम भाउजूले सिन्दूर र पोते लगाइरहने निर्णय लिएकोमा परिवारको तर्फबाट असहमति नरहेको बताउनुहुन्छ । रेनुका सामान्य गृहिणी हुनुहुन्छ । उहाँका दुई छोरा र दुई छोरी छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू