अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४८ | Colorodo: 07:03

“मेरो प्रस्ताव कुनै पनि हालतमा फिर्ता हुँदैन” -अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७७ मंसिर २१ गते ६:५७ मा प्रकाशित

आइतबारको नेकपा स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले राखेको राजनीतिक प्रस्तावअर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहबमोजिम फिर्ता नहुने अडान लिनुभएको छ । उहाँले स्थायी समिति बैठकमा सदस्यहरुलाई सम्बोधन गर्दै भन्नुभयो, ‘मैले राखेको प्रस्ताव सबैतिर पुगिसकेको छ, यसमाथि छलफल हुन्छ।’ प्रचण्डले आफूले राखेको प्रस्ताव जनताको भइसकेको उल्लेख गर्दै यसमा छलफल हुनुपर्ने अडान लिनुभएको बताईएको छ ।

अध्यक्ष प्रचण्डले बरु तार्किक निर्णयसहित आफ्नो प्रस्तावलाई विस्थापन गर्नसक्ने भन्दै लचकताको संकेत भने दिनुभएको छ । बैठकलाई उहाँले करिब २० मिनेट सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री तथा अध्यक्ष ओली भने आजकोे बैठकमा सहभागी हुनुभएन ।

अध्यक्ष प्रचण्डले भन्नुभयो ‘आजको बैठकमा नआएर प्रधानमन्त्री ओलीले ठूलो भूल गर्नुभयो। पार्टीमा सबै समीक्षा हुनुपर्छ। आफू सहभागी सचिवालय बैठकको निर्णयअनुसार भएको पार्टी स्थायी समिति बैठकमा उहाँ नआउनु पार्टी नियमको उल्लंघन हो।’

बैठकको सुरुमा एक घन्टा प्रधानमन्त्री ओलीलाई पर्खिएरै बिताएका प्रचण्ड तथा नेताहरुले ओली नआउने निश्चित भएपछि बैठक सुरु गरेका थिए। बैठकका लागि ओलीले पठाएको पत्र उपप्रधानमन्त्री तथा पार्टी सचिवालय सदस्य ईश्वर पोखरेलले पढेर सुनाउनुभएको थियो । पत्रमा ओलीले प्रचण्डलार्ई आफ्नो राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गर्दै सदस्यहरुसँग विवेक प्रयोग गर्न आग्रह गर्नुभएको थियो ।

नेकपा स्थायी समितिको अर्को बैठक मंसिर २८ गतेका लागि तय भएको छ भने केन्द्रीय कमिटी बैठक पुस ५ गतेका लागि तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू