अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५९ | Colorodo: 05:14

चितवनमा राजावादीहरूको बृहत् र्‍याली

बिआरटीनेपाल २०७७ मंसिर २० गते ११:१९ मा प्रकाशित

चितवन, २० मङ्सिर । वर्तमान सरकार विभिन्न कारणले विवादमा तानिएपछि सरकारप्रति धेरैको आशा मर्न थालेको छ । यसै क्रममा राजावादीहरू यती बेला सक्रिय भएका छन् । संवैधानिक राजतन्त्र स्थापना तथा सङ्घीयता खारेजीको माग गर्दै चितवनमा राजावादीहरूले शनिवार बृहत् र्‍याली निकालेका छन् । सो र्‍याली हेर्दा अहिलेको सरकारप्रति जनतामा वितृष्ण बढ्दै गएको देखिन्छ ।

सोही कारण पनि यति बेला राजतन्त्र पुनः स्थापनाको माग गर्दै चितवन लगायत देशका विभिन्न स्थानमा दैनिक जसो प्रदर्शन भइरहेका छन् । हातमा राष्ट्रिय झन्डा बोकेर युवाहरू राजतन्त्रको पक्षमा नाराबाजी गर्दै सडकमा प्रदर्शन गरेका छन् । यो दृश्य शनिवार चितवनमा पनि देख्न पाइयो ।

शनिवार मध्यान्ह १ बजे भरतपुरको केन्द्रीय बस टर्मिनलबाट सुरु भएको र्‍याली हाकिम चोक–चौबीस कोठी– वीरेन्द्र क्याम्पस चोक – लायन्स चोक – शहिदचोक – पुलचोक –पोखरा बसपार्क – आँपटारी हुँदै पुनः केन्द्रीय बस टर्मिनलमा गएर समापन भएको छ । राष्ट्रवादी नागरिक समाज चितवनले युवाहरूको राजसंस्था प्रतिको मोहलाई मध्यनजर गर्दै देशव्यापी एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले र्‍यालीको आयोजना गरेको बताए ।
र्‍यालीमा भरतपुर महानगरपालिका, राप्ती, रत्ननगर, कालिका, माडीलगायतका क्षेत्रबाट र छिमेकी जिल्ला नवलपुरबाट समेत देशभक्त स्वतन्त्र युवाहरूको सहभागिता रहेको थियो । प्रदर्शनमा युवाहरूले राजा आऊ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने नारा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू