अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१७ | Colorodo: 21:32

आन्दोलनरत किसानद्वारा भारत बन्दको घोषणा

बिआरटीनेपाल २०७७ मंसिर २० गते ७:३५ मा प्रकाशित

भारतमा आन्दोलनरत किसानले बन्दको घोषणा गरेका छन् । आफ्ना मागहरु पुरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरी बन्दको आह्वान गरिएको उनीहरुले बताएका छन् । किसानका नेता गुर्नाम सिंह चाडोनीले पत्रकार सम्मेलनमार्फत् भारत बन्दको आह्वान गरिएको जानकारी दिनुभएको हो । आफ्ना मागहरु पुरा गर्नका लागि शनिबारको वार्तामा पनि सरकारले पर्याप्त लचकता नदेखाएमा देशभरी बन्द गराइने उहाँले बताउनुभयो ।

कृषिसम्वन्धी नयाँ कानुनहरुप्रति असन्तुष्टि जनाउदै भारतमा केही समयदेखि किसानहरु देशव्यापी आन्दोलनरत छन् । हालै ल्याइएका कृषिसम्वन्धी कानुनहरु रद्ध नगरिएमा देशव्यापी बन्द अन्तर्गत सबै सडकहरुमा अवरोध गरिने उहाँले बताउनुभयो । सरकारले ल्याएको कानुन लागु भएपछि किसानहरु थप मर्कामा पर्ने, कृषिजन्य उत्पादनले पर्याप्त मुल्य नपाउने दाबी आन्दोलनरत किसानहरुको रहेको छ ।

केही महिना अगाडि नै पारित भएको कानुनप्रति किसानहरुले त्यतिबेला देखि नै असन्तुष्टि जनाउदै आएपनि आन्दोलन भने केही समय अगाडिदेखि मात्रै शुरु भएको हो । अहिले केन्द्रीय राजधानी नयाँ दिल्लीलाई समेत प्रभावित पार्नेगरी आन्दोलन शुरु भएकाले केन्द्रीय सरकार अहिले दबाबमा परेको छ ।

आन्दोलन चर्किदै गएपछि सरकारले किसानसँग पटक पटक वार्ता पनि गरेको छ । तर वार्ता परिणममुखी हुन नसकेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू