अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१५ | Colorodo: 00:30

रोबोट जिन्दगी

रश्मि भट्ट २०७७ मंसिर १९ गते १२:२२ मा प्रकाशित

कथा
टीनिन्न, टिनिन्न – – – – – मोबाइलको अलामसॅगै निशान्तले आँखा खोल्यो। उठ्यो बाथरुम पसेर, यसो मुखमा पानी छ्याप्यो र ब्याग बोकेर निस्क्यो । बसको ढोकै अगाडिको बेकरीबाट मिडियम साइजको कफी र केही मन परेका खानेकुराहरू लियो । बसमा बस्नासाथ कसैको वास्ता नगरी खाइरह्यो । बसमा खाने उ एक्लो र नयाँ हुँदैन यो परदेशमा, त्यसमा पनि अमेरिकामा । ट्रेनमा, बाटोमा, हिँड्दाहिँड्दै जतातता खाइरहेकै हुन्छन् मान्छेहरू ।

आरामले खान त कमैलाई मात्र फुर्सद छ । बसबाट ओर्लेपछि ट्रेन लियो र काम गर्ने ठाउँमा पुग्यो । जति छिटो पुगे पनि एक मिनेट अघि पनि र ढिलो भयो भने पनि उ म्यानेजरको आदेश बिना हाॅजीरी जनाउन सक्दैन । फेरी जाने समयमा ढिलो चाहिँ जति भए पनि फेरी आदेश बिना बाहिरिन पनि सक्दैन । यही हो विदेशीहरूको विकासको शोषण नीति । दिनभरि जति काम गरे पनि हरेक सेकेन्ड, मिनेट, घण्टा कि त ग्राहकको चाहनामा, कि त म्यानेजर, डाइरेक्टरको आदेशमा । न भोक लागेको समयमा खानु, न इच्छा लागेका कुनै खाना खानु, गाई, भैँसीलाई जस्तै घाँस दिए घाँस, कुँडो दिए कुँडो, अझै नदिए भोकै ।

पाँच बजे घर छाडेको पाँचै बज्यो । आदेश मिल्नासाथ क्लक् आउट गर्‍यो र हतार हतार ट्रेन अगाडिको ठेलागाडी जस्तो पसलबाट जुस र मन लागेका खानेकुरा टन्न लियो । ट्रेनमा खचाखच भीड, खान त के कुरा मुस्किलले उभिन सक्यो । बस पक्डनासाथ सिट पायो र मजाले खान थाल्यो । घर पुग्नासाथ फुत्त झोला फ्याँकेर पल्टिहाल्नु पर्छ उसलाई के को टन्टा एक्लो जिन्दगीमा । न खाउॅ भन्ने कोही छ, न ल्याएको बनाएर खुवाउने नै कोही छ । बरु यो बाटो चाहिँ कति टाढा हो भन्या ? काम त आखिर दसैँ घण्टा त हो तर तीन घण्टा त सॅधै आउँदा जाँदैमा सकिन्छ । सात बजे घर पुग्यो ऊ । फुत्त ब्याग, लुगा, फाटो एकापट्टि मिल्कायो र सुत्यो । दश घण्टा निरन्तरको परिश्रमले थाकेको जीउ, आउनु, जानु । मोबाइल पनि फुत्त फ्याँक्यो, आ अलामले उठाइहाल्छ, यही अलामको भरमा काम गरेको कति दिन भइसक्यो, के को चिन्ता ? भुसुक्क निदायो । ब्युँझेर भित्ताको घडी तिर हेर्छ त बिहानको नौ । ओ माई गड मोबाइलको अलाम किन बजेन ? यत्रो धोका ?, यत्रो छल ।जुरुक्क उठेर मोबाइल हेर्छ त ब्याट्री जिरो । पसीनै पसीना भयो, रुनु न हाँस्नु, बेसरी छट्पट्टियो । पाँच मिनेट ढिलो भएकोमा खबर नगरे पाँचै मिनेटमा चट हुने जागिर । उठ्दैमा चार चार घण्टा ढिलो । निश्चिन्त छ अव जागिर गयो । अलिकति चार्ज हुनासाथ काम गरेको ठाउँमा दसौँ चोटि फोन लगायो, मरिगए कसैले उठाएन । रोयो, करायो, चिच्यायो । दौडँदै गएर माफी माग्यो, आफूबाट गल्ती भएको स्वीकार गर्‍यो तर अह सुन्ने कान लाएनन् कसैले । एकै चोटि तीन हप्तापछि मात्र काममा आउने दण्ड भिराइयो उसलाई ।

थुइक्क कुत्ताको देश, पत्थरका मान्छेहरू, मैले एक वर्ष सम्म रिट्ठो नबिराई काम गरेको मिहेनतको राम्रो फल दिए आज मलाई यिनीहरूले । वैद्य बसाई भएको भए न्याय खोज्न हुन्थ्यो । हरेस खाएन पटक्कै, जबान छु, बल, बुद्धि छ, इमानदार छु, एक दिन बसाई पनि वैध हुनेछ । कसो नपाउँला अर्को काम ? को कुर्छ तीन, तीन हप्ता ? फरक्क फर्क्यो । झलक्क हजुर आमालाई सुझ्यो, सधै भालेको डाँकमा अर्थात् भाले नबासे पनि टक्रक्क चार बजे कसरी उठ्छिन् । जतिबेला कति बज्यो होला हजुरआमा भनेर सोधे पनि ठिक मिलाउँछिन् । न घडी, न मोबाइल, न कुनै अलाम ?थुइक्क दिमाग, थुइक्क रोबोर्ट जिन्दगी । आफ्नो दिमागभन्दा बढी तागत्दार के हुन्छ र ? दुई दिनमै धुईं धुईं खोजेर फेरी अर्को स्टोरमा काम पायो । काम गर्दै गयो , छिटै सबैसँग घुलमिल हुने बानीले सजिलै रमाउन पनि थाल्यो । अवैध बसाइ, वैद्य कैले हुने हो ? कहिले देश फर्कने हो, जवानी यहीँ सिद्धिन के बेर ? आफूसँग अत्यन्तै मिल्ने, राम्री र उमेर पनि लगभग एउटै भएकी स्पेनिस केटीसँग हिमचिम बढायो, बढ्दै गयो । जात न भात, आमा न बाबु, यो सात समुन्द्र पारी कति दिन एक्लै बस्नु भविष्यमा उसैसँग लगन गाँठो कस्ने सुर कस्यो उसले । स्पेनिस केटी जति राम्री थिई, त्यसको तीन गुणा बढी छट्टु र बाठी पनि थिई । रूप भन्दा तीन गुणा चलाख चतुर ।

भाषा राम्ररी नबुझ्ने हुँदा उसलाई दिने मायाका शब्दहरू गुगलमा खोजी खोजी स्पेनिस भाषामा अनुवाद गर्‍यो । कुन कुन बार के – के भन्ने अलाममा सेट गर्‍यो । रिझाउँदा रिझाउँदा एक दिन ऊ यसरी ठुस्स परी कि -हाइ भन्दा आँखा तरेर बोल्नै छाडी । आफूबाट केही गल्ती भयो कि भनी सुझ्यो अह सकेन । धेरै पटक फकाएर सोध्दा त उसलाई उसको हप्ता भरीको तलब एकै पटक दिए पनि थोरै हुन्छ रे, उसले भनेको आइ लभ यु हनी पनि केही हैन रे । मेसेज गर्ने, केयर गर्ने बानी त झनै रहेनछ रे । बिर्सेछ । सरी, सरी भेरी सरी भन्यो । उसले स्पेनिस भाषामा के के भनी भनी, केही बुझेन । उसकै आँखा अगाडि तुरुन्तै अर्को केटासँग टालिएर उसलाई देखाउँदै नराम्रोसँग खिसी टिउरी गरेर हाँस्न थाली । थुइक्क जिन्दगी, आफ्नो देश, गाउँ घरको कुनै बिहे गर्ने उमेरकी केटी विवाह गरेर यति माया दिने हो भने उसले यो जिन्दगीलाई हुने, बाॅच्न, उन्नति गर्न पुग्ने कति प्यार ममता, आदर बर्षाउथी होला ? आफू र आफ्नो बहिनी सानो छँदा वर्ष दिनमा मात्र परदेशबाट आएर पन्ध्र बिस दिन बसेर जाने बाबासँग आमाले कहिल्यै कुनै गुनासो नगरेको सँझना भयो ।

मेरो आमा जस्ताहरू पनि नारी, यो पनि नारी । तीन छक्क पर्‍यो । विदेश र मेशीनरी युग ,प्रेम पनि पैसा र मेसिनमै साटिने रहेछ । आफ्नै स्पेनिस म्यानेजरलाई के–के कुरा लगाइ । फेरी तीन हप्ताको छुट्टी पायो उसले । हे ! जिन्दगी । अव त्यस स्पेनिस गन्धकको मुख नहेर्ने अठोटले एक महिनाको छुट्टी माग्यो । तीन वर्ष काम गरेको ठाउँमा एक दुई दिन ढिलो हुँदा जागिरे गयो । छ महिना काम गरेको ठाउँमा झन् सजिलै छुट्टी पायो । उसले कमाइको खाम बुझ्यो र सरासर कोठामा गई बिछ्यौनामा पल्टेर एक तमासले ध्यान पूर्वक जिन्दगी र भविष्यबारे खुब सोच्यो- अव यस्तो भारेभुरे जागिर खाएर को बस्छ हो ? पढ्छु, उमेर छ,पचास कटेका मान्छे पढेर फेरी केही बन्छन् म त भर्खर तीस वर्ष । दुई चार पैसा बैङ्कमा जम्मा गर्नु भन्दा त सबै लगानी गरेर पढ्नु नै राम्रो । पढ्नु र कुनै न कुनै विषयमा उच्च शिक्षा हासिल गर्नु जस्तो ठुलो कुरा त केहो पनि छैन । अन्यत्र देशबाट त विशिष्ट प्रतिभा भएकालाई सजिलै ग्रिन कार्ड दिने देशले, म यहीँ विशिष्ट भएर निस्के भने कसो नदेला त ? खर्च धान्न सक्ने सस्तो कलेजमा भर्ना भयो, महँगो ज्ञान र नतिजा निकाल्ने लक्ष्य लियो । कलेजको पढाइ र काम, अलाम लगायो, अलामकै भरमा उठ्न थाल्यो फेरी । टिनिन्न, टिनिन्न—- ।

विदेशमा, सबै विकसित देशहरूमा, खान, बस्न र पढ्नलाई सख्त हाड घोट्नु बाहेक जिन्दगी केही रहेनछ । यसभन्दा पर केही सोच्यो कि जीवनै बर्वाद । बरु रोबोटै जसरी भए पनि जिन्दगी कुदिरहोस्, उन्नतिको लागि, प्रगति र समृद्धिको लागि । अरू केही भएन भने पनि बाँच्नको लागि जसरी अ-विश्राम हाम्रो शरीरमा मुटुले काम गरिरहन्छ, गर्न सकोस् सधै भरी ।