अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१४ | Colorodo: 21:29

टाइम किड अफ द इयर कोलोराडोकी गीताञ्जलीलाई

बिआरटीनेपाल २०७७ मंसिर १९ गते ८:१८ मा प्रकाशित

कोलोराडो । टाइम किड अफ द इयरको उपाधि कोलाराडोकी गीताञ्जली राव, १५, ले हात पारेकी छन् । यससँगै उनी टाइम म्यागेजिनले पहिलो पटक आयोजना गरेको पहिलो किड अफ द इयर बनेकी छन् ।

टाइम म्यागेजिनले ९२ वर्षदेखि टाइम पर्सन अफ द इयर छनौट गर्दै आएको थियो । यस पटक टाइम म्यागेजिनले बालबालिकाका लागि टेलिभिजन सामाग्री प्रसारण गर्ने निक्लोडियनसँगको सहकार्यमा टाइम किड अफ द इयर कार्यक्रम आयोजना गरेको हो ।

टाइम म्यागेजिनले गीताञ्जलीको फोटो कभर पिक्चर बनाएको प्रकाशन गरेको छ । अमेरिकामा रहेका ८ देखि १६ वर्ष उमेरका ५ हजारभन्दा बढी बालबालिका मध्ये टाइम म्यागेजिनले गीताञ्जलीलाई छानेको हो ।

टाइम म्यागेजिनका लागि हलिउडकी चर्चित अभिनेत्री एञ्जेलिना जोलीले गीताञ्जलीसँग अन्तर्वार्ता लिएको छ । उक्त अन्तर्वार्तामा उनले आफ्नो वैज्ञानिक आविष्कारका बारेमा बताएकी छन् ।

टाइम म्यागेजिनले गीताञ्जलीलाई वैज्ञानिक र आविष्कारकका रूपमा टाइम किड अफ द इयरको उपाधि दिएको हो । गीताञ्जलीले विज्ञानका विविध क्षेत्रमा काम गरिरहेकी छन् । उनले प्रदूषित पानी पत्ता लगाउने उपकरण आविष्कार गरेकी हुन् । ‘टेपिस’ नाम दिइएको उक्त उपकरणले पिउने पानीमा सिसाको मात्रा कति छ भन्ने जानकारी दिन्छ । उक्त उपकरण मोबाइल एपबाट चल्छ ।

‘मेरो उमेरको बालबालिका हरेक दिन पानीसँग विष पिइरहेका हुन सक्छन्,’ उनले भनेकी छन्, ‘यो समस्या समाधान गर्न केही गर्नुपर्छ भन्ने लागेर यो उपकरण बनाएकी हूँ ।’

गीताञ्जलीले लागु औषधको कुलत छुटाउने, साइबर बुल्लिङ र कम उमेरका खोजकर्ता बढाएर विश्वमा विद्यमान समस्या समाधान गर्ने लगायतका क्षेत्रमा काम गरिरहेकी छन् । निक्लोडियनले ४ डिसेम्बर साँझ ७ः३० मा टाइम किड्स अफ द इयर प्रसारण गर्दैछ ।

प्रतिक्रिया