अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४४ | Colorodo: 15:59

“कोरोनाविरुद्धको खोपलाई नाफाको माध्यम बनाउनु हुँदैन” – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ मंसिर १९ गते ७:२३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले खोप उपलब्ध नभएसम्म कोरोना महामारीबाट विश्व सुरक्षित हुन नसक्ने बताउनुभएको छ । संयुक्त राष्ट्र संघको कोभिड–१९ सम्बन्धी विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप निर्माणमा संलग्न कम्पनी र कोरोना खोप विश्व माझ पुर्याउन विशेष भूमिका निर्वाह गरिरहेको कोभाक्सको प्रशंसासमेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा खोपलाई नाफाको माध्यम बनाउन नहुने बताउनुभयो । उहाँले स्वास्थ्य सेवा प्रणाली, मानव जीवन रक्षा र दिगो स्वास्थ्य संरचना निर्माणलाई मुख्य प्राथमिकतामा राखेर नेपालले कोरोनाविरुद्धको लडाई लडिरहेको पनि महासभालाई जानकारी गराउनुभयो ।

भिडियो सन्देशमार्फत् सम्बोधन गरेका प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको तयारीमा नेपाल पनि अरु देशको जस्तै अवस्थामा रहेकाले उस्तै क्षति व्यहोर्नु परेको बताउनुभयो । उहाँले अहिले नेपालले ठूलो संख्यामा अस्पतालहरुलाई कोरोना फोकस अस्पतालका रुपमा विकास गरिरहेको, सातै प्रदेशमा सरुवा रोगसम्बन्धी अस्पताल निर्माण सुरु गरेको र हरेक स्थानीय तहमा आधारभूत अस्पतालमा निर्माणको काम सुरु गरेको पनि उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालले विश्व स्वास्थ्य संगठनले तय गरेको गाइडलाइनअनुसार कोरोनाविरुद्ध जनचेतना फैलाउने काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू