अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१४ | Colorodo: 05:29

अमेरिकामा कोरोना संक्रमण र अस्पताल भर्ना हुनेको सङ्ख्या अहिलेसम्मकै उच्च

बिआरटीनेपाल २०७७ मंसिर १८ गते ७:२९ मा प्रकाशित

अमेरिकामा कोरोना संक्रमित र अस्पताल भर्ना हुनेहरुको सङ्ख्या अहिलेसम्मकै उच्च रेकर्डमा पुगेको छ । स्वास्थ्यविद्हरुका अनुसार क्रिस्मससम्म यो दर घट्न धेरै कठिन पर्नेछ । पहिलोपटक त्यहाँ एकैदिनमा अस्पताल भर्ना हुनेको सङ्ख्या १ लाख पार गरेको ‘कोभिड ट्रयाकिङ प्रोटेक्ट डाटा’ ले देखाएको छ । सो तथ्याङ्क नोभेम्बरको सुरुवातमा भन्दा दुई गुणाले बढेको हो । यसका साथै बुधबार नयाँ संक्रमित बिरामीहरुको सङ्ख्या पनि हालसम्मकै उच्च १ लाख ९५ हजारभन्दा बढी पुगेको छ । यता २ हजार ७३३ को मृत्यु हुँदा यसले पनि नयाँ रेकर्ड बनाएको छ । यसरी अमेरिकामा संक्रमितहरुको सङ्ख्या झन्डै १ करोड ४० लाख नजिक पुग्न लागेको छ भने २ लाख ६४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

अमेरिकाले केही हप्ता यतादेखि नै कोभिड बिरामीको सङ्ख्यामा उल्लेनीय रुपमा वृद्धिको सामना गरिरहेको छ । जसमा नोभेम्बरमा मात्र हरेक हप्ता नयाँ संक्रमितहरु लाखौँ हुन पुगेको हो । यसको प्रतिक्रियामा अमेरिकी निकायहरुले देशको स्वास्थ्य सेवा प्रणाली जाडोयाममा अप्रत्याशित दबाबमा परेको बताइरहेका छन् ।

यसअघि सीडीसीका प्रमुख रोबर्ड रेडफिल्डले डिसेम्बर, जनवरी र फेब्रुअरी, देशको सार्वजानिक स्वास्थ्यको इतिहासकै सबैभन्दा अफ्ठ्यारो समय हुने बताएका थिए । सबैभन्दा धेरै जनसङ्ख्या बसोबास गर्ने, क्यालिफोर्निया, टेक्सस र फ्लोरिडा अहिले सबैभन्दा नराम्ररी प्रभावित भइरहेका छन् । यी स्टेटहरुमा कोरोना संक्रमितहरु दशौँ लाख पुगिसकेका छन् । यसअघि लस एन्जलसका मेयर एरिक गार्सेट्टीले आपत्कालीन निर्देशन जारी गर्दै सबै वासिन्दाहरुलाई घरैमा बस्न समेत आदेश दिएका थिए ।

सरकारको सुझाव बेवास्ता गर्दै अधिकतम मानिसहरु ‘थ्याङ्क्स गिभिङ’ मनाउन यात्रा गरिरहेकाले पनि आगामी केही दिनसम्म संक्रमण दर यसरी नै नयाँ रेकर्डमा बढ्दै जाने अमेरिकी निकायहरुले बताएका हुन् । यात्रा गर्नेहरुमा थोरै प्रतिशत मात्र कोरोना संक्रमित भएपनि उनीहरुले हजारौँ, लाखौँमा रोग फैलाउन सक्ने हुँदा नयाँ कोभिड बिरामी थपिने क्रम नियन्त्रण गर्न अत्यन्तै गाह्रो परिरहेको बताइएको छ ।
– बिबिसी

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू