अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३१ | Colorodo: 23:46

अब त्रिविको पठनपाठन भौतिक उपस्थितिमा

बिआरटीनेपाल २०७७ मंसिर १८ गते ७:०५ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ । त्रिविका रजिष्ट्रार डा. पेशल दाहालले स्थानीय तहसँग समन्वय गरेर क्याम्पस सञ्चालन गर्न निर्देशन दिइएकोे जानकारी दिनुभयो । कोभिड–१९ का कारणले त्रिविको गत चैतदेखि परीक्षा र पढाइ सञ्चालन हुनसकेको छैन ।

रजिष्ट्रार दाहालले भौतिक उपस्थिति हुन नसक्ने क्याम्पसलाई वैकल्पिक विधि प्रयोग गरेर नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार स्नातकोत्तर तहको पढाइ भने भर्चुअल विधिबाट भए पनि स्नातक तहको कक्षा भने भएका छैनन् ।

त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीका अनुसार कार्यकारी परिषद्को बैठकले त्रिविअन्तर्गतका सबै क्याम्पस विभाग, स्कूलले स्थानीय तहले तोकेको समयसीमा र मापदण्डभित्र रहने गरी स्थानीय तहसँग समन्वय गरी सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालन गर्ने र सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गरी नियमित कक्षा सञ्चालनको व्यवस्था गर्न सबै क्याम्पसलाई अनुरोध गरेको थियो ।

यसैगरी त्रिविले यही मङ्सिर २८ गतेदेखि कोभिड–१९ को कारणले रोकिएका सबै परीक्षा शुरु गर्ने जनाएको छ । कोभिड–१९ को मापदण्ड पूरा गरेर परीक्षा गर्न थालेको हो । परीक्षा नियन्त्रण कार्यालय सहनियन्त्रक धनश्याम ठाकुरले पहिलो चरणमा स्नातक तहको परीक्षा गर्न थालिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यही मङ्सिर २८ गते विज्ञान तथा प्रविधि, शिक्षा र व्यवस्थापन सङ्कायको चौथो वर्षका परीक्षा हुँदैछन् । उहाँले पहिलो चरणको परीक्षा सकाएपछि स्नातकोत्तर तहको माघ र बाँकी स्नातक तहको अन्य वर्षको परीक्षा क्रमशः गरिने बताउनुभयो । त्रिविले यसपटक विद्यार्थीलाई आफूलाई पायक पर्ने ठाउँबाट पनि परीक्षा दिनसक्ने व्यवस्था मिलाएको छ । उहाँका अनुसार कम विद्यार्थी भएका सेमेष्टर तहका परीक्षा भने भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू