अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३५ | Colorodo: 12:50

के छ के छैन ?

युवराज मैनाली २०७७ मंसिर १७ गते २०:४१ मा प्रकाशित

(लघुकथा)

प्याजले व्याज लिन थालेपछि तालु खुइले आलु पनि मैतालु बनिहाल्यो । देशमा कार छ । परदेशीको व्यापार चम्केको छ । सडकमा चमचमाउँदो कार, वाइकको रेलाले घर खेत पेलेको छ । सरकार तैयार छ । छिमेकीले भन्छ चुनाव पहिले सरकार मान्छ । हो, सरकार त्यहीँ मात्र छ । भोट खसाल्न भन्दिने गरेको छ । यहाँ सरकारको बास (गन्ध) आउँछ । प्याज हुँकार गर्छ चुनाव गर्ने राग निकाल्छ यहाँ पनि मान्नै पर्छ सरकार छ । सरकार नहुँदो हो त त्यो राग, त्यो आवाज कसरी तरंगिन्छ । हरियो सिग्नल तैयार छ तोरी, रायो, धनियाँ, बनियाँ पनि फर्फराउँछ । मुखमा के हाल्ने ? हैन अब मात्र ओठमा दल्नेको नामै शब्द कोशको भखारीमा तरकारीको नाम हाल्दिनु पर्ला जस्तो छ । हुलासको गाडी चढ्ने प्रधानमन्त्रीले चलाएको हेलो सरकार पनि छ । यो सर्वसाधारणबाट पन्छेर वार पार नजरमा केन्द्रित छ । दल त दाल भैहाल्यो र नगल्ने दाल । पकाउने गल्दछ तर त्यो गल्दैन यसको ज्ञानेन्द्रिय नै चल्दैन सत्ता पक्ष होस् वा विपक्ष तेल के हेर्नु तेलको धार हेर्दा धारको सार बुझ्नमा मात्र तल्लिन छ । जनताको मुख मलिन छ । यसैले त चुनाव हुनु कता कता चुनावमा उठ्ने साराको गलामा माला छ अविरमय गाला छ । दशैँ तिहारमा झैँ निधारमा रातै टिकाको ताला छ । जनताका रगत मासु महंगीले सोेस्दैछ । यिनीहरु मोटाघाटा भएर अखाडामा कस्सिँदै छन् । जनतासित लहसिँदै छन् । कान समातेर चेत वावा भन्दैछन् । हात जोडेर, चुनाव पछि सप्पै सुल्झाउने वाचा गर्दैछन् । घ्यार्रघ्यार्र बाइक गुड्दै छन् । घटघट घ्यार्रहुर्र हेलिकप्टर उड्दैछन् । गाडीमा आगो लाग्दैछन् ।

दृश्य शब्दमा उतार्दा उतार्दै भोको पेटले आँखा छोप्यो । मात्र आवाज कानभरि गुञ्जिदैछन् ।

छ…..छ…….छ……

छैन…..छैन….छैन…..

के ?

सरकार ! सरकार !!