अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४८ | Colorodo: 16:03

बेलायतमा फाइजरले बनाएको कोरोनाविरुद्धको खोप प्रयोग गर्न स्वीकृति

बिआरटीनेपाल २०७७ मंसिर १७ गते ७:०६ मा प्रकाशित

बेलायतले अमेरिकी कम्पनी फाइजर र जर्मन बायोएनटेक कम्पनीले संयुक्तरुपमा बनाएको कोरोनाविरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।योसँगै विश्वमा कोरोनाविरुद्धको खोप सर्वासाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश बनेको छ ।बेलायतको नियामक निकाय ‘एमएचआरए’ले कोरोनाभाइरसको संक्रमण रोक्न ९५ प्रतिशत सफल भएको यो खोप अर्को हप्ताबाट सर्वसाधारणलाई लगाइने जनाएको छ ।

जोखिम समूहमा रहेका व्यक्तिहरुलाई पहिलो प्राथमितामा राखिएको छ । खोप कार्यक्रमका लागि लगभग ५० अस्पताल तयारी अवस्थामा राखिएको र अन्य खोप केन्द्रहरू तयार गर्न थालिएको छ ।विज्ञहरूले खोप सुरु भएपछि पनि मानिसहरू सतर्क हुनुपर्ने र स्वास्थ्य सावधानीहरू अपनाउनुपर्ने बताएका छन् ।बेलायतले यसअघि नै फाइजरको खोपको चार करोड ‘डोज’को ‘अर्डर’ गरिसकेको छ । यसबाट दुई करोड मानिसलाई खोप दिन सकिनेछ । तीन हप्ताको अन्तरालमा उक्त खोपको दुई मात्रा आवश्यक पर्दछ ।

अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परीक्षणमा उक्त खोपको दोस्रो मात्रा दिइएको सात दिनपछि खोप दिइएकाहरूमध्ये ९० प्रतिशतलाई संक्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो ।फाइजरले यस वर्षको अन्त्यसम्ममा पाँच करोड मात्रा खोप आपूर्ति गर्नसक्ने जनाएको छ । सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड मात्रा आपूर्ति गर्नसक्ने कम्पनीको दाबी छ ।

खोपको इतिहासमा यो सबैभन्दा छिटो स्वीकृति पाउने खोप बनेको छ । महामारी सुरु भएको १० महिनाको अवधिमा यो खोप योजनाबाट अनुमतिसम्म आइपुगेको हो । कतिपय खोपका लागि एक दशकभन्दा लामो समय लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू