अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१४ | Colorodo: 15:29

जापान निवासी सबैले कोरोनाविरुद्धको खोप निःशुल्क पाउने

बिआरटीनेपाल २०७७ मंसिर १७ गते ७:०२ मा प्रकाशित

जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिकरुपमा कोरोनाभाइरसबाट संक्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।नयाँ कानुनअनुसार १२ करोड ६० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेटसमेत पारित गरिएको छ ।

सरकारले छ करोड मानिसका लागि औषधि उत्पादक संस्था फाइजरबाट खोप ल्याउने सुनिश्चित गरिसकेको छ भने बाँकी दुई करोड ५० लाख मानिसका लागि अमेरिकी बायोटेक फर्म मोडर्नासँग सम्झौता गरेको छ ।त्यसैगरी, १२ करोड मानिसलाई पुग्नेगरी अस्ट्राजेनिकाको खोप ल्याउने तयारी भएको अधिकारीहरुले जनाएका छन् ।

फाइजर र मोडर्नाले कोरोनाविरुद्धको खोप आपत्कालीन प्रयोगका लागि अमेरिका र युरोपमा यसअघि नै अनुमति मागेका छन् । चिकित्सकीय परीक्षणबाट दुवैको खोप प्रभावकारी पुष्टि भइसकेको छ ।जापानका प्रधानमन्त्रीले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सरकार अत्यधिक संवेदनशील रहेको बताएको दुई हप्तापछि संसदबाट यस्तो कानुन पारित भएको हो ।

तुलनात्मकरुपमा जापानमा कोरोनाभाइरसको महामारी कम देखिएको छ । जापानमा कोरोनाका कारण अहिलेसम्म दुई हजार १०० जनाको मृत्यु भएको छ भने एक लाख ५० हजार संक्रमित भएका छन् । त्यसैगरी, जापानमा अहिले कहीँपनि अतिकडा ‘लकडाउन’ लागू गरेको देखिएको छैन । तर पनि महामारी अहिले तेस्रोपटक फैलिएको हो । संक्रमितहरु भेटिनेक्रम चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू