अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४८ | Colorodo: 13:03

भोकहरूको शृङ्खला

प्रज्वल अधिकारी २०७७ मंसिर १६ गते १४:४८ मा प्रकाशित

तिर्खाएको सभ्यताको घाँटीलाई
बाग्मतीको पानीले तिर्खा मेटाओस् र सुनाओस् आदिम गीत
भगवानलाई दिनहुँ चढाइने आस्थाको अर्घ्यले
भोका नानीहरूको भरियोस् पेट र जोगियोस् जीवनचक्र
स्वयम्भुका आँखाहरूले नझारुन् वेदनाका आँसुहरू

सडक पेटीका काखहरूले
भोका पेटहरूलाई
अभावको लोरी सुनाएर जबरजस्ती सुताउनु नपरोस्

आँसुहरूको सागर बोकेर गएको जहाजले
मेहनत र आशाको लहर बोकेर फर्कियोस्
र फर्केकाहरूले
देशका फाँटहरूमा कङ्कृट महल होइन
धान झुलेको सपना देखुन्
खोलाका हातहरूले गैरिखेतको मुटु प्रेमले छामुन्
र गैरिखेतको धानले किसानको पेट भरोस्

स्वार्थको कृत्रिम नक्सा भुलेर
प्रकृतिको नियम अनुसार विचरण गरून् मान्छेहरू
र फर्किउन् श्रमको चुच्चोमा चारो बोकेर आफ्नै गुड

बृद्दाश्रम खाली खाली होउन् र
सुनियोस् बार्दलीमा बसेर केटाकेटीलाई
संस्कार र संस्कृतिको पाठ पढाइरहेका हजुरबुवाको आवाज
देख्न पाइयोस्
हजुरआमाको शरीरमा तेल घसिरहेका आमाहरू
महसुस गर्न पाइयोस्
आमाहरूको मायाले हजुरआमाहरूको हृदय भरिएको

आमाको शारीरिक बनौट भन्दा
कयौँ गुणा महत्त्वपूर्ण होओस् नाबालकको भोक
प्रथा भन्दा कयौँ गुणा ममतामयी होउन् रजस्वला भएकी छोरी
दाइजो भन्दा कयौँ गुणा प्रेमिल लागोस् पत्नीको प्रेम
भँगेरा र गौँथलीहरूले आँगनमा उफ्रँदै सिकाउन् बाँच्ने कला
बांसझ्याँङमा कर्‍याङकुरुङ गरेर डाँङ्ग्रेहरूले बताउन् समयचक्र
पीपलका पातहरूमा पाउजु बजाउँदै नाचोस् हावा

नेताहरू जनताको लागि आदर्शको उदाहरण बनुन्
जनताहरू देशको लागि नयाँ इतिहास रच्न सक्ने बनुन्

देशलाई यस्तो भोक लागिरहेको बेला
यो सबै भुलेर आफ्नै रमझममा अघाइरह्यौ भने
देशलाई नातागत हुनेछ र ढल्नेछौ हामी !

प्रतिक्रिया